काठमाडौं । उच्च अदालतमा विचाराधीन क्रिकेटर सन्दीप लामिछानेको मुद्दा छिनोफानो हुने विन्दुमा पुगेको छ । कुनै ठुलो फेरबदल नभए न्यायाधीशले आज जसरीपनि फैसला सुनाउनेछन् । मुद्दामा हिजो दिनभरि बहस भएको थियो । दुवैतर्फका वकिलहरूको बोल्ने क्रम नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ । सोही इजलासले आज बिहान ११ बजेदेखि नै सुनवाइलाई निरन्तरता दिने छ ।
सन्दीपको तर्फबाट दुईजना र गौशला २६ को तर्फबाट ४ जनाले आज बहस गर्नेछन्। त्यसपछि दुवैतर्फबाट जवाफी बहस पनि हुनेछ । जवाफी बहस सकिएपछि न्यायाधीशद्वय शुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले फैसला सुनाउनेछन् ।
यो मुद्दाको फैसला सन्दीपकालागि भाग्यकै फैसलाको रूपमा रहेको छ । निर्दोष सावित भएमा उनी तत्काल क्रिकेटमा फर्कन सक्नेछन् र टी २० विश्वकप खेल्ने ढोका समेत खुल्नेछ । अन्यथा उनको करियर नै जोखिममा पर्ने छ । उनको जीवन नै चकनाचुर हुनेछ ।