२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रात पर्दै गर्दा सबै निस्किएपछि जब न्यायाधीशसामु गौशाला–२६ पुगिन् !

Gaushala 26

काठमाडौं । नेपालमा अदालतलाई तटस्थ र निष्पक्ष बनाउँन न्यायमुर्तिको स्वार्थमा कुनैपनि मुद्दा नजाउन् भनेर गोलाप्रथा लागू गरिएको छ । इजलासमा जानुअघि मात्र गोला टिपेर न्यायाधीशले मुद्दा लिन्छन् । सुनुवाई सकिएन भने स्थगित गरेर अर्को बेन्चमा जानेगरी पठाइदिनुपर्छ । फेरि दोस्रो पटक त्यही मुद्दाको गोला टिप्न पुगेमा हेर्न नमिल्नेमा राखिदिनुपर्छ । यसअघिको पेसीमा पहिले नै यही सन्दीपको मुद्दामा झगडिया झिकाउने आदेश दिएका मुख्य न्यायाधीश नृपध्वज निरौलाले गोला टिप्दा सन्दीपको मुद्दा परेपछि उनले प्राकृतिक न्यायको विपरित हुने भन्दै हेर्न नमिल्नेमा राखेर पन्छाएका थिए । यो निष्पक्षताका लागि हो ।

मुद्दाका क्रममा न्यायमुर्ति भावनात्मक, आर्थिक, नैतिक दवावमा नपरुन् । मुद्दाका पक्षलेपनि न्यायाधीशसम्म सम्पर्क नबनाउँन् । न्यायाधीशले झगडिया पक्ष नभेटुन् भन्ने प्राकृतिक न्यायको सिद्धान्त बमोजिम यसो गरिएको हो । तर नेपाली क्रिकेट टीमका पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा गौशाला–२६ लाई न्यायाधीशले बेन्च उठेपछि भेटेका छन् । यो उनका वकिलको न्यायाधीशलाई ‘भावनात्मक दबाब’ दिने प्रयास हो । घटना आज बहस सकिएर मुद्दा हेर्दाहेर्दैमा गइसकेपछिको हो । हेर्दाहेर्दैमा राखेको मुद्दा भोलिपल्ट सोही न्यायाधीशको बेन्चमा जान्छ । यस्तो अवस्थामा यो नेपाली न्यायालयको इतिहासमा अस्वभाविक र अकल्पनीय भएको कानून विज्ञहरुको भनाई छ ।

उच्च अदालत पाटनमा आजै मुद्दाको छिनोफानो गर्ने तयारी भए पनि त्यो सफल भएन । अग्राधिकार पाएको हुँदा मुद्दाको पालो १ नम्बरमा नै थियो र न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालले समयमै इजलास खोलेर सुनुवाइ थालेका थिए । बिहान करिब ११ बजेबाट बहस सुरु भयो । सुरुमा जाहेरीकर्ता गौशाला २६ को तर्फबाट दुई सरकारी वकिल रत्नकेशरी महर्जन र प्रकाश घिमिरेले बहस गरे । त्यसपछि सन्दीपका वकिलहरुको बहस सुरु भयो । सन्दीपको पक्षबाट बहस गर्नेमा कहलिएका वकिलहरुको सूची थियो । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, रामनारायण बिडारी, मुरारी सापकोटा, कृष्ण सापकोटाले सन्दीपको तर्फबाट बहस गरे ।

त्यसपछि फेरि गौशाला २६ का निजी वकिलहरुको बहस सुरु भयो । गौशाला २६ ले आधा दर्जनभन्दा बढी निजी वकिल राखेकी थिइन् । उनीहरुमध्ये तीन जनाले बहस गरे । सन्दीपको तर्फबाट मुख्य वकिल सरोज घिमिरे, वरिष्ठ अधिवक्ता सविता भण्डारी र वरिष्ठ अधिवक्ता अमिता सैंजुले बहस गर्न बाँकी छ । यसैगरि, गौशाला २६ का तर्फबाट शशी अधिकारी र मोहना अन्सारी लगायत ४ जनाले बहस गर्न पाएका छैनन् । आज ७ बजेसम्म बहस सक्ने र ८ देखि साढे ८ सम्म फैसला गर्ने गरी अदालतले योजना बनाएको थियो । त्यही योजनाअनुसार बेलुका ५ बजेपछि पनि बहसलाई निरन्तरता दिइयो । फैसला आज गर्ने तयारी नगरिएको भए ५ बजे नै हेर्दाहेर्दैमा राखिन्थ्यो र इजलास बन्द हुन्थ्यो ।

तर, बहस १० बजेसम्म लम्बिने अवस्था देखियो । फैसला आउँदा मध्यरात हुन सक्थ्यो । अदालत बाहिर भिडभाड पनि थियो । सन्दीपका समर्थकहरु ठूलै संख्यामा जम्मा भइसकेका थिए । उनले सफाइ पाउने आशामा पञ्चेबाजासमेत तयारी अवस्थामा राखिएको थियो । तर, मध्यरातमा फैसला गर्दा गलत सन्देश जाने र जे फैसला आए पनि अवाञ्छित प्रतिक्रिया उत्पन्न हुन सक्ने भन्दै न्यायाधीशद्वयले मनस्थिति बदलेको अदालत स्रोतले बताएको छ ।

मुद्दा हेर्दाहेर्दैमा राखिएको निर्णय सुनाइसकेपछि सबै खुरुखुरु बाहिर निस्किए । सन्दीपपनि आफै कार चलाएर बाहिरिए । न्यायाधीशद्वय भट्ट र उप्रेती भित्रै थिए । सन्दीप पक्षका एकजना वकिल पनि थिए । यत्तिकैमा गौशाला–२६ की वकिल शान्ति रिसाल आफ्नी क्लाइन्ट (गौशाला २६) लाई लिएर इजलासभित्र पसिन । भित्र पस्नासाथ शान्तिले गौशालालाई केही इशारा गरिन् । त्यसपछि गौशाला २६ न्यायाधीशद्वयको अगाडि घोप्टो परेर रुन थालिन् । न्यायाधीशद्वयले सम्झाइबुझाइ गरेपछि उनी निस्किएको स्रोतले बतायो ।

यो घटनालाई सन्दीपका वकिलहरुले असामान्यरुपमा लिएका छन् । गौशाला २६ का वकिलहरुले फैसला आफ्नो पक्षमा पार्न न्यायाधीशहरुमाथि ‘इमोसनल ब्ल्याकमेलिङ’ गरेको उनीहरुको आरोप छ । एक वकिलले भने, ‘इजलासमा बहस सकिएपछि वकिलले जाहेरीकर्तालाई न्यायाधीशहरुका अगाडि उभ्याउनु र रुन लगाउनुको नियत के हो ? यसअघि पनि पटक–पटक यस्ता घटना भएका छन्, जुन न्याययिक प्रक्रियालाई प्रभावित पार्ने चेष्टा हो ।’

योभन्दा अगाडि जिल्ला अदालत काठमाडौंमा पनि यस्तै दृश्य देखिएको थियो । दुवै पक्षले आ–आफ्नो बहस सकेपश्चात गौशालाले आफू अन्तिममा बोल्न पाउनु पर्ने माग गरेकी थिइन् । न्यायाधीशले पनि अनुमति दिएका थिए । सामान्य तथा वकिलहरुले बहस सकिएपछि फेरि मुद्दाको एउटा पक्षलाई आफ्नो भनाइ राख्ने अवसर दिइँदैन । तर गौशाला २६ लाई दिइएको थियो । त्यसबेला पनि उनले रुँदै आफ्नो पक्षमा फैसला नआएको खण्डमा सर्वोच्च अदालतसम्म जाने बताएकी थिइन् । जिल्ला अदालतले गौशाला २६ को पक्षमा फैसला सुनाएको थियो । आज हेर्दाहेर्दैमा राखिएपछि मुद्दाको फैसला भोलि आउने लगभग निश्चित भएको छ । न्यायाधीशद्वय भट्ट र उप्रेतीले नै फैसला सुनाउनेछन् । दुवे पक्षका वकिलहरुको बहस सकिएपछि दुवै पक्षबाट जवाफी बहससमेत हुनेछ । त्यसपछि फैसलाको प्रक्रियामा जानेछ । भोलि दिउँसोसम्ममा फैसला आउने अपेक्षा गरिएको छ ।

यो फैसला सन्दीपको क्रिकेट करिअर र सिंगो जीवनका लागि निकै महत्वपूर्ण रहेको छ । फैसला सन्दीपको पक्षमा आए उनी तत्काल क्रिकेटमा फर्किन सक्नेछन र टी–२० विश्वकप खेल्ने सपना पनि पूरा हुन सक्नेछ । यदि उच्च अदालतले जिल्ला अदालतको फैसला कायम राखेको खण्डमा सन्दीपको निलम्बन जारी रहनेछ । उनी क्रिकेटमा फर्किन सक्ने छैनन् । यदि उच्चले जिल्लाकै फैसला सदर गरेमा सन्दीपसँग अन्तिम विकल्पका रुपमा सर्वोच्चमा पुनरावेदन गर्ने अवसर हुन्छ । पुनरावेदनको फैसला नआउञ्जेल उनी पक्राउ त पर्दैनन्, तर क्रिकेटमा फर्किने अवस्था हुने छैन । यसले उनको क्रिकेट करिअरमा गम्भीर क्षति पुग्नेछ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस