काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिने क्रममा छ । बहस सकिएपछि फैसला आउनेछ । सन्दीपको पक्षबाट पाँचजनाले बहस सकेका छन् । सन्दीपको पक्ष अघि नै सरकारी वकिलहरुले आफ्नो बहस सकाएका छन् ।
सुरूमा दुई सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि सन्दीपको तर्फबाट बहस सुरू भएको थियो । वरिष्ठ अधिवक्ताहरू मुरारी सापकोटा, कृष्ण सापकोटा र शम्भु थापापछि अहिले रामनारायण बिडारी र रमण श्रेष्ठले पनि बहस सकेका छन् । श्रेष्ठ र बिडारीले जिल्ला अदालतले गरेको फैसलामा प्रशस्त प्रश्न उठाए । प्रमाणविना अदालतले फैसला सुनाएको भन्दै उनीहरूले त्यसलाई सच्याएर सन्दीपलाई सफाइ दिन माग राखे । उनीहरूले बहस गरिरहँदा पनि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले कुनै प्रश्न गरेनन् ।
श्रेष्ठ र बिडारीपछि गौशाला २६ का निजी वकिलहरूले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको पक्षबाट सविता भण्डारी र सरोज घिमिरेले बहस गर्ने पालो छ । उनीहरुको बहस सकिएपछि सरकारी वकिलले छोटो जवाफी बहस गर्नेछन् । बहस यदि लम्बिएमा आज मुद्दा हेर्दाहेर्दैमा जान सक्छ । यदि दुवै तर्फको बहस सकिएमा आजै फैसला आउन सक्छ । अदालतले अबेरसम्म काम गर्ने सोच बनाएको छ ।