२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेको मुद्दा के होला ?

Senior advocate Bidari will argue for Sandeep Lamichhane Case

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित जबरजस्ती करणी मुद्दाको सुनुवाइ मङ्गलवार उच्च अदालत पाटनमा हुँदै छ। जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेपछि त्यसविरुद्ध उच्च अदालतमा सरकार र सन्दीप दुवै पुगेका थिए । जिल्ला अदालत काठमाडौंले गौशाला २६ को जाहेरीमा सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएको थियो ।

फैसलामा जिल्लाले दुई वटा कुरामा व्याख्या गरेको थियो । जिल्ला अदालतले जाहेरीकर्ता गौशाला २६ लाई बालिग ठहर गरेको थियो । उनलाई बालिग ठहर गरेसँगै सजाय फौजदारी संहिता अन्तर्गत कम भएको थियो । नाबालिग करणीमा १२ वर्षसम्म कैद हुनेमा उनलाई आठ वर्ष मात्र ठहर गरेको थियो । जिल्ला अदालतको उक्त फैसलाले लामिछानेले थुनाबाहिर रहेर मुद्दा लड्न पाएका थिए । जिल्लाले उनलाई १० वर्षभन्दा माथिको सजाय सुनाएको भए उनी थुनामै रहने थिए ।

आज हुने सुनुवाइमा पनि यो प्रश्न उठ्ने छ । जिल्लाले उनलाई सफाइ दिँदा लिएका आधारहरूलाई सरकारी वकिलहरूले चुनौती दिने छन् । सन्दीपका कानून व्यवसायीले भने जिल्लाको फैसलालाई आधार मान्दै बालिगका बिचमा भएको यौन सम्बन्ध बलात्कार नहुने भएकाले सफाइ पाउनुपर्ने माग गर्ने छन्। दुवै पक्षको बहसपछि उच्चले उनलाई सजाय निर्धारण गर्ने छ। उच्चले सफाइ दिएमा उनी पुनः क्रिकेट क्यारियरमा फर्कने छन् भने दोषी नै ठहर गरेमा निलम्बन कायमै हुने छन् ।

उच्चले जिल्लाकै सदर गर्ने कि उल्ट्याउँदै सजाय थप गर्नेवारे पनि निर्णय सुनाउने छ। उच्चले जिल्लाको सवै अभियोग बदर गरेर नयाँ ठहर गरेमा उनलाई बढीमा १२ वर्षसम्मको सजाय निर्धारण गर्ने छ। यदि यो विकल्पमा उच्च अदालत गएमा उनी थुनामै बसेर सर्वोच्च जानु पर्नेछ । यदि जिल्लाको सदर गरेमा भने उनका लागि थुनाबाहिर रहेर सर्वोच्च जाने बाटो रहने छ ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। यही धारा अन्तर्गत सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटेलमा राखेर बलात्कार गरेको बताएकी थिइन्।

पीडितको बयानअनुसार भदौ ५ गते राति १२ बजेर ५५ मिनेटमा काठमाडौँ महानगरपालिका–९ स्थित एक होटेलको ३०५ नम्बर कोठामा राखेर सन्दीपले उनीमाथि बलात्कार गरेको दाबी अभियोग पत्रमा गरिएको छ। सोही राति १२ बजेर २५ मिनेटमा पनि सन्दीपले आफूलाई बलात्कार गरेको ती किशोरीको बयान छ। आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएपछि प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँचसमेत गराएको थियो।

पीडित किशोरी र सन्दीप सामाजिक सञ्जाल ‘स्न्याप च्याट’मार्फत् नजिकिएका थिए। स्न्याप च्याटमार्फत् चिनजान भएर नजिकिएको केही समयपछि सन्दीपले नै ती किशोरीसँग भेट गर्ने प्रस्ताव राखेर उनलाई लिन गाडी लिएर पुगेको बताइएको छ। आफ्नो कारमा राखेर सन्दीपले ती किशोरीलाई भदौ ५ गते ६ बजेतिर काठमाडौंबाट भक्तपुरतिर लगेको बताइएको छ। त्यसपछि आफूहरू नगरकोटसम्म पुगेको पीडित किशोरीले बताएकी छन्। नगरकोटमा सन्दीपले मदिरा सेवन गरेको र त्यहाँबाट फेरि काठमाडौँ फर्किएको किशोरीको भनाइ थियो ।

यद्यपी नगरकोटमा पुगेको रिसोर्टका कर्मचारीले भने सन्दीपले दुई वटा खाजा सेट मगाएको र एउटा मात्र दुई जनाले मिलेर खाएको बयान अदालतमा दिएका छन् । त्यहाँ यौनिक कार्य केही नभएको र मादक पदार्थपनि सेवन नगरेको होटलका कर्मचारीले बील लगायतका प्रमाणसहित बयान दिएका छन् ।

नगरकोटबाट फर्किएर काठमाडौं आइसक्दा रातिको ११ बजिसकेको र होस्टल (छात्रावास) बन्द हुने भन्दै एक होटेलमा कोठा बुक गरेर उनीहरू बसेका थिए। सोही होटेलको कोठा नम्बर ३०५ मा सन्दीपले आफूमाथि बलात्कार गरेको पीडित किशोरीले बयानका क्रममा बताएकी छन्। तर सन्दीपले भने आफूले बलात्कार नगरेको, कुर्सीमा मात्र निदाएको दाबी गरेका छन् । त्यसपछि बिहान हासी खुशी नै सन्दीपकै गाडीमा चडेर किशोरी होस्टल गएको सीसी क्यामेरामा समेत देखिन्छ ।

उक्त घटना लगत्तै क्रिकेट खेल्न विदेश पुगेका सन्दीप नर्फिएपछि प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस नै जारी भएको थियो। त्यसपछि सन्दीप नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ परेका थिए। सन्दीपको दाबी हेर्दा यो मुद्धा पल शाहको जस्तै फैसला आउन सक्छ । किशोरी आफैं सन्दीपप्रति आकर्षित भएर भेटघाट गरेको, त्यसपछि सन्दीपले वेवास्ता गरिदिँदा आवेगमा आएर सोचि विचारगरी अभियोग लगाएको न्यायाधीशहरुले ठहर गर्न सक्छन् ।

पल शाहको केशमा त जिल्ला अदालतले पीडितसँग शारीरिक सम्पर्क भएको नदेखिएपनि नाबालिग भएकाले बाल यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गरेको थियो । पछि उच्चले त्यो अभियोगपनि खारेज गरिदिएको थियो । सन्दीपलाई भने बाल यौन दुर्व्यवहारपनि नलाग्नेगरी जिल्लाको अघिल्लो फैसलाले उमेर एकिन गरिसकेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस