२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

२ सांसदको मृत्युपछि सांसद बनेको महिना दिन नपुग्दै अकल्पनीय समयमा राज्यमन्त्री बनेकी हसीना

काठमाडौं । डुडुवा गाउँपलिका –३, हलबल डोली गाउँकी हसीना खानको कलिलैमा बिहे भयो । पढ्ने उमेरमा बिहे गरेर गृहस्थी बनेकी उनी आफैँले पनि सोचेकी थिइनन् कि चुलाचौकादेखि सिंहदरबारसम्मको यात्रा यति छोटो हुन्छ भनेर । अप्रत्यासितरुपमा वैशाख पहिलो साता समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेर संसद् छिरेकी खानले सोमबार स्वास्थ्य राज्यमन्त्रीको शपथ लिएकी छन् ।

दुई सन्तानकी आमा उनी बल्ल २७ वर्षकी भइन् । जबकि उनका जेठा छोरानै ९ वर्षका भइसके । मुस्लिम समुदायकी छोरी–बुहारी हसीनाले बालबच्चा हुर्काउँदै स्नातकसम्म पढेकी छन् । राजनीतिक पृष्ठभूमिको परवारकी उनलाई त्यही योग्यताले ०७९ को निर्वाचनमा समानुपातिकतर्फ मुस्लिम महिलाको कोटामा उम्मेदवार बनायो । उनी जसपा नेपालबाट समानुपातिक उम्मेदवार थिइन् । सो दलबाट मुस्लिम महिलातर्फ निर्वाचित मन्जु अन्सारीको गत चैतमा निधन भएपछि बन्द सूचीको क्रमानुसार हसीनाले अप्रत्यासितरुपमा संसद् छिर्ने मौका पाइन् ।

७ वैशाखमामात्रै उनले प्रतिनिधिसभा सदस्यको शपथ लिएकी थिइन् । सांसद भएको महिना दिन नपुग्दै उनी सोमबार राज्यमन्त्री बनेकी हुन् । जसपा नेपाल विभाजित भएर बनेको जसपाबाट हसीनाले स्वास्थ्य राज्यमन्त्री बन्ने मौका पाएकी हुन् । यो मन्त्री बन्ने समयपनि अकल्पनीय हो । दल विभाजन भएको थिएन भने मन्त्रीपरिषद् पुर्नगठनको सम्भावना थिएन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै नवगठित जसपाबाट प्रदीप यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका हुन् । यादव र खानले सोमबारै शितलनिवासमा एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्री यादव र प्रधानमन्त्री दाहालसमक्ष राज्यमन्त्री खानले पद तथा गोपनीयताको शपथ लिएका छन् । खान राज्यमन्त्री बन्दा मन्त्रिपरिषद्‌मा महिलाको संख्या पाँच पुगेको छ भने मुस्लिम महिला र मुस्लिम समुदायकै समेत प्रतिनिधित्व भएको छ ।

राज्यमन्त्री बनेपछि उनले चुनौतीपूर्ण संघर्ष पार गरेर यहाँसम्म पुगेको बताइन् । ‘मुस्लिम समुदायबाट राजनीतिमा आउनु आफैँमा चुनौती हो । यो अवसर पाउनु मेरो लागि मात्र होइन, सिंगो समुदायकै लागि उपलब्धि हो, राज्यमन्त्री खानले भनिन्, मेरो समुदायको प्रतिनिधित्वको सम्मान हो ।’

उनले स्वास्थ्य मन्त्रालयमा रहँदा आफूले समुदायस्तरमा स्वास्थ्य सेवा पुर्‍याउन प्रयास गर्ने बताएकी छन् । दुर्गममा डाक्टरहरु नबस्ने, विपन्नले स्वास्थ्य सेवाको पहुँच नपाउने समस्याको अन्त्यका लागि आफूले भूमिका खेल्ने उनको भनाइ छ । खानको संसद्‌ र मन्त्रिपरिषद्‌मा भएको उपस्थिति नै मुस्लिम महिलाको लागि ठूलो हौसला भएको महिला अधिकारकर्मी मैमुना सिद्धिकीले बताइन् । ‘राजनीतिमा मुस्लिम महिलाको संख्या नै न्यून छ । त्यसमाथि यो खालको अवसर दिएर प्रोत्साहन गर्ने अभ्यास छैन, उनले भनिन्, यो हसिनाका निमित्त मात्रै होइन, समग्र मुस्लिम महिलाका लागि समेत हौसलाको विषय हो ।

हसिना निर्वाचित भएको सिटमा जसपा नेपालले सबैभन्दा पहिले सहनाज रहमानलाई निर्वाचित गरेको थियो । तर उनको २०७९ फागुन १३ मा ह्रदयघातका कारण निधन भयो । त्यसपछि मन्जु अन्सारी निर्वाचित भइन् । अन्सारीको समेत गत चैत ४ गते हृदयघातकै कारण निधन भएपछि बन्दसूचीकै आधारमा खान निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस