२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुलमान घिसिङमाथि अकुत सम्पत्तिमा छानबिन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पदीय दुरुपयोग गरी आफ्नो भाइ तथा परिवारका सदस्यहरूलाई १ अर्ब रुपियाँभन्दा बढी आम्दानी गराएकाले उनीहरूमाथि अकुत सम्पतिमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले छानबिन थालेको छ । कुलमान र उहाँको परिवारका सदस्यविरुद्ध धेरै उजुरी परेकाले छानबिन थालेको जानकारी दिँदै अख्तियार स्रोतले भन्यो– ‘उजुरी आएकाले गम्भीरतापूर्वक छानबिन हुन्छ, अकुत सम्पति आर्जन गरेको देखिए सोहीअनुसार कारबाही हुन्छ।’

स्रोतका अनुसार उजुरीमा कुलमान घिसिङ पहिलोपटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएपछि अपारदर्शी रूपमा आएको पैसा प्रयोग गरेर आफ्नो भाइ गणेश घिसिङको नाममा ३ करोडको कम्पनी दर्ता गराई प्राधिकरणको आवरणमा सोही कम्पनीबाट एक अर्बभन्दा बढीको कारोबार गरेको दाबी गरिएको छ। नेपाल विद्युत् प्राधिकरणमा सातौं तहबाट प्रवेश गरेका कुलमानले चिलिमे जलविद्युत् कम्पनीमा हुँदासमेत बनेपा धुलिखेललगायतका ठाउँहरूमा २५ रोपनीभन्दा बढी जग्गा खरिद गरेको र प्राधिकरणको प्रबन्ध निर्देशक भएपछि आफ्ना भाइहरू गणेश घिसिङ, अनिल घिसिङ, सानुकान्छा घिसिङ र सुरेश घिसिङको नाममा २०७४ सालमा ३ करोडको लगानीमा तेन्डेल हार्डवेयर प्रा.लि. नामक कम्पनी स्थापना गरेकाले सो सम्बन्धमा समेत छानबिन गर्न उजुरीमा माग गरिएको छ।

कुलमानका भाइहरूको नाममा रहेको सो कम्पनीले १७ वटा बैंकमा गरेर १ अर्बभन्दा माथिको कारोबार गरेको भन्दै उजुरीमा कुनै आयस्रोत नभएका कुलमान प्राधिकरणको प्रबन्ध निर्देशक हुनासाथ ३ करोडको लगानी रहेको कम्पनी दर्ता गर्न सक्ने भएको जिकिर गर्दै उजुरीमा कुलमानले प्राधिकरणको आवरणमा कमाएको अवैध आम्दानीको प्रयोग भएको दाबी गर्दै यस विषयमा गम्भीर छानबिन गरी सत्यतथ्य पत्ता लगाउन अख्तियारसमक्ष माग गरिएको छ । कुलमान २०७३ सालमा प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका थिए भने उनले आफ्ना भाइहरूको नाममा २०७४ सालमा तेन्डेल हार्डवेयर नामक कम्पनी दर्ता गराएको देखिन्छ ।

२०७४ सालमा स्थापना भएको कम्पनीले गरेको आम्दानी शंकास्पद देखिएपछि २०७४ सालमा नै तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा राजस्वले छापा मारेर उक्त कम्पनी ३ महिना बन्द भएको थियो। त्यसपछि विभिन्न शक्ति केन्द्रको दबाबमा क्लिन चिट लिएको सो कम्पनीले काठमाडौंको बौद्ध र सिन्धुपाल्चोकको पाँचखालमा शाखा कार्यालय खोलेर पूर्वतिर बन्दै गरेका सम्पूर्ण हाइड्रोपावरहरूलाई प्राधिकरणको कार्यकारी निर्देशक आफ्नो दाई कुलमान रहेको बताउँदै हार्डवेयरका सम्पूर्ण सामानहरू यही कम्पनीमार्फत् लानैपर्ने बाध्यकारी बनाइँदै आएको उजुरीमा उल्लेख गरिएको छ।

यसै गरी इक्रा नेपालले २०१२ सालमा करिब ४ अर्ब ४७ करोड रुपियाँ बराबरको कम्पनी लामा कन्स्ट्रक्सन प्रा।लि।को तत्कालीन मूल्यअनुसार ५५ करोड ८७ लाखको ९ लाख ६० हजार कित्ता अर्थात् १२।५ प्रतिशत सेयर खरिद गर्दा जम्मा ९ करोड ६० लाख मात्र देखाएर करछलीसमेत गरेको र सो रकमसमेत कुलमानले अवैध तरिकाले कमाएको रकम भएको भन्दै छानबिन गर्नुपर्ने समेत उजुरीमा माग गरिएको बताइएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस