२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमै कैलाश मानसरोवर पर्वत [ भिडिओसहित ]

काठमाडौंको टोखा झोरमा रहेको बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर पर्वत रुपमा मानिने ऐतिहासिक किंवदन्ती छ । भगवान शिवजी कैलाश मानसरोवरपछि गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको विशाल ढुंगाभित्रको बौडेश्वर मन्दिरमा बास र ध्यान गरेको ग्रन्थहरुमा पाइन्छ । शिवजीले कैलाश पर्वतमा विष सेवन गरेका बेला गोसाइकुण्ड जाने क्रममा टोखाको झोरमा रहेको क्षेत्रमा बास बस्नुभएको जनविश्वास छ ।

शिवजीले भष्मासुरलाई दिएको वरदान स्वरूपमा उल्टै भष्मासुरले शिवजीकै टाउकोमा हात राखेर नष्ट गर्ने उद्देश्यले लखेट्दै गएपछि भगवान शिवजी टोखा झोरमा रहेको विशाल ढुंगाभित्र प्रवेश गरेर ज्यान बचाएको भन्ने जनश्रुती समेत छ । भगवान शिवजी सजिलै विशाल ढुंगाको गुफामा प्रवेश गरेपनि भष्मासुर राक्षस भने ठूलो शरीर भएका कारण प्रवेश गर्न नसकेर शिवजीलाई भेट्टाउनै नसके भनिन्छ ।

भष्मासुर राक्षसले विशाल ढुंगाभित्र प्रवेश गर्नका लागि घुँडा धसेको प्रमाण देखिन्छ। विशाल ढुंगाभित्र पसेर ज्यान जोगाउनुका साथै ध्यान गरेकाले अहिले सो ढुंगाभित्र शिवजी महादेव, सतीदेवी र गणेशका स–साना शिलामा स्थानीय र पर्यटक पुगेर पुजा गर्दछन् ।

भगवान शिवजीले तपस्या गरेको, राक्षसबाट बच्न लुकेको र विशाल ढुंगाभित्र भगवान रहेको विश्वासले टोखा झोर दोस्रो कैलाश मानसरोवरका रुपमा अवस्थित रहेको पाइन्छ । यसको प्रचार प्रसार सबैले गर्ने हो भने विश्वभरका हिन्दुहरुको यात्रा यहाँसम्म हुनेछ । ‘यो झरना र मन्दिर अद्भुत छ । यो महादेवालयको शक्ति पनि धेरै छ । भूकम्पले हल्लाउन नसकेको यो विशाल ढुंगा र शक्तिलाई सबैले पुँजा गरिरहेका छन् । ‘शिवजीले नै ध्यान र तपस्या गरेको ठाउँ भएकाले यो झोर नामले चिनिएको बरुणेश्वर अर्थात बौडेश्वर मन्दिर दोस्रो कैलाश मानसरोवर हो । विशाल ढुंगाभित्र महादेव, सतीदेवी र गणेशको शक्ति भएको शिला छ ।

सतीदेवीको दायास्तन सो क्षेत्रमा पतन भएकाले पनि सो क्षेत्रमा पुजाआजा हुँदै आएको छ । ढुंगाभित्रको मन्दिरलाई गुफाभित्रको मन्दिर भन्ने गरिएको छ । बाहिर रहेको विशाल ढुंगामा वर्षायाममा माथिबाट आएको खोलाको पानी झर्ने भएकाले झोर झरनाका रुपमा यो क्षेत्र परिचित छ । झोर माथि रहेको ठूला ढुंगाको भित्री भागमा तपस्या गर्ने ठाउँ पनि छ । त्यसमाथि गणेश र महादेवको अनुहार देखिने दुई वटा ठूला शिला छन् । गणेशको बाहन मुसाजस्तो देखिने शिलालाई पनि स्थानीयले भगवानकै शक्तिका रुपमा पुज्ने गरेका छन् । मन्दिर अगाडि रहेको कुण्डमा पाँच पाण्डवले तपस्या गरेको भन्दै स–साना कुण्ड पनि देखिन्छन् । हिन्दु धर्मको आस्थाको धरोहर रहेको टोखा झोरको मन्दिर परिसरमा बौद्ध धर्मका लामाले पनि वर्षौ पहिलेदेखि आएर ध्यान गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस