२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नक्कली लाइसेन्स लिने-दिने सबै पक्राउ पर्दै, भरिदैछ सीआईबीको हिरासत

driving license from nepal

२१ वैशाख, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ परेका सातै जनालाई सीआईबीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीले नक्कली लाइसेन्स बनाउने काममा संलग्न भएका कर्मचारीदेखि नक्कली लाइसेन्स लिनेसम्मलाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३ जना नक्कली लाइसेन्स बनाउने काममा संलग्न छन् भने ४ जना नक्कली लाइसेन्स लिनेहरु रहेको एसपी बोगटीले बताए । प्रहरीले वैशाख १५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत आईटी इन्जिनियर सुरजप्रकाश अर्याल र यातायात कार्यालय बुटवलमै करार इन्जिनियरको रुपमा कार्यरत हरिश भट्ट पक्राउ गरेका थिए । गत सोमबारमात्रै यातायात कार्यालय बुटवलमा कार्यरत शाखा अधिकृत नारायण पाण्डेलाई सीआईबीले पक्राउ गरेको थियो ।

नक्कली लाइसेन्स लिने पनि फन्डामा

प्रहरीले अहिले नक्कली लाइसेन्स लिनेहरुलाई पनि पक्राउ गर्न सुरु गरेको छ । जसमा अहिलेसम्म ४ जना नक्कली लाइसेन्स लिनेहरु पक्राउ परेको एसपी बोगटीले बताए । नक्कली लाइसेन्स लिएको आरोपमा पक्राउ पर्नेहरुमा लजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोला छन् । उनीहरु सबैलाई हिरासतमा राखेर सीआईबीले अनुसन्धान अघि बढाएको छ ।

यो समूहले ट्राफिक प्रहरीको कारबाहीबाट यातायात कार्यालय ल्याइएका लाइसेन्सहरुको कीर्ते गरी सोही नम्बरमा अर्को लाइसेन्स जारी गर्दै बिक्री गरेको पाइएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा भने थुप्रै लाइसेन्सहरु यसैगरी जारी भएको हुनसक्ने देखिएको छ । उनीहरुविरुद्ध सरकारी लिखत कीर्तेको कसुरमा सीआईबीले अनुसन्धान अघि बढाएको हो । यही प्रकरणमा सीआईबी यातायात व्यवस्था विभागका उच्च अधिकारीहरुमा पनि सुक्ष्म रुपमा अनुसन्धान अघि बढाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत १ लाख वटाभन्दा बढी लाइसेन्समाथि छानबिन गरिरहेको छ । सोही छानबिनका लागि भन्दै आईटी इन्जिनियर अर्याललाई काजमा अख्तियारले आफ्नो कार्यालयमा लगेको थियो । अख्तियार स्रोतका अनुसार उनी १ लाख भन्दा बढी नक्कली लाइसेन्स प्रकरणमा जोडिएको र आईटी इन्जिनियर समेत भएकाले अनुसन्धानका लागि सहज हुने भन्दै केही दिनअघि मात्रै अख्तियारमा काज गरिएको हो ।

यातायात व्यवस्था विभागले उपसचिव मुकेश रेग्मीको संयोजकत्वमा समति गठन गरी नक्कली लाइसेन्सबारे छानबिन गरेको थियो । विगत ८ वर्षमा १ लाख भन्दा बढी नक्कली लाइसेन्स जारी भएको खुलेको थियो । रेग्मीको नेतृत्वको समितिले गत पुसमा बुझाएको छानबिन प्रतिवेदनले लामो समयदेखि नक्कली सवारी लाइसेन्स जारी हुने गरेको तथ्य सार्वजनिक गरेको थियो । सर्वसाधारणको विवरणहरु तोडमोड गरेर लिखित परीक्षा र ट्रायल बिना नै विभिन्न व्यक्तिका नाममा लाइसेन्स जारी गरिएको सीआईबीको अनुसन्धानमा खुलेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस