२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले बर्दियाको दुई पटक अध्यक्ष हराउँदै उपाध्यक्ष पौडेल निकट अधिकारीको प्यानल विजयी

बुटवल, वैशाख २० । नेकपा (एमाले) बर्दियाको अध्यक्षमा उपाध्यक्ष विष्णु पौडेल निकटका शालिकराम अधिकारीको प्यानल विजयी भएको छ । १०औं अधिवेशनबाट दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारीको प्यानल विजयी भएको हो । अधिकारी १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लीला गिरी तथा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको साथ थियो । श्रेष्ठलाई भने महासचिव शंकर पोखरेलले साथ दिएका थिए । जिल्ला अधिवेशनका लागि महासचिव पोखरेल आफैं बर्दिया पुगेका थिए । त्यस्तै उपाध्यक्षमा दुर्गा वली १७९ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए ।

सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत पाएका छन् । उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत पाए । त्यस्तै संगीता थारू पनि १८८ मतका साथ उपसचिवमा विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी मञ्जु शर्माले १५० मत ल्याइन् ।

नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ र उपाध्यक्ष शालिकराम अधिकारीको नेतृत्वमा अलग–अलग प्यानल बनाएर निर्वाचनमा गएका थिए। श्रेष्ठको प्यानलबाट उपाध्यक्षमा कृष्णप्रसाद गौतम, सचिवमा नैनबहादुर खत्री, उपसचिव लहनु थारू र मन्जु शर्माले उम्मेदवारी दिएकोमा एक जना उपसचिव लहनु थारू मात्रै विजयी भए । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य डा. हरिप्रसाद भण्डारीका अनुसार अधिवेशनका लागि ३६४ जना प्रतिनिधि रहेकोमा ३६१ जनाले मतदान गरेका थिए । यसअघि लुम्बिनी प्रदेशको रुकुम पूर्वको एमाले अध्यक्षमा टोपबहादुर वली सर्वसम्मत र रोल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित भएका थिए । वली पनि उपाध्यक्ष पौडेल निकट हुन् ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस