२०८१ असोज १९ गते शनिवार | 2024 October 5th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखराको अमरसिंह चोक र लाकुरी जंगलको आगो निभाइयो

२० वैशाख, पोखरा । कास्कीको पोखरा महानगरपालिका क्षेत्रभित्र दुई ठाउँमा लागेको आगो नियन्त्रणमा आएको छ । पोखरा महानगरपालिका–३१ बेगनास लाकुरीडाँडा जंगलमा लागेको आगो र पोखरा महानगरपालिका–१० अमरसिंहचोकको शान्तिपथमा बिजुलीका सामानको गोदाममा लागेको आगो सशस्त्र प्रहरीसहितको टोलीले नियन्त्रणमा लिएको हो ।

गएराति ११ बजे पोखरा–३१ बेगनास लाकुरीडाँडा जंगलमा लागेको आगोबाट ९ वटा घरहरु जोखिममा परेका थिए । सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको टोलीले आज बिहान ३ बजे आगो नियन्त्रणमा लिएको हो । गणपति अरुण पौडेल शर्माले फायरलाइन बनाएर आगो निभाइएको र घरहरु पूर्ण रुपमा सुरक्षित रहेको एकिन गरी टोली गणमा फर्किसकेको जानकारी दिए ।

यसैगरी अमरसिंह चोकको शान्तिपथमा ध्रुव मरासिनीले सांग्रिला सप्लायर्स नामबाट सन्चालन गरेको बिजुलीको गोदाममा गएराति साढे १० बजे आगलागी भएको थियो । आगलागीको खबर स्थानीयबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरीको कालिका गणको टोली, पोखरा महानगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । करिब ४५ मिनेटको फायर फाइटिङ अपरेसनपछि गोदामको आगो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीको कालिका गणका गणपति शर्माले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण नआइसकेको उनले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस