२०८१ मङ्सिर ७ गते शुक्रवार | 2024 November 22nd Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पैसाका लागि ‘बोक्सीको घर’बाट समाज माथी अन्याय, जो कोहीलाई यी दृष्य यसरी नराखे हुने लाग्छ

boksi ko ghar review

काठमाडौं, वैशाख १७ । ‘बोक्सी’को आरोपमा मलमुत्र ख्वाउने, आफन्तबाटै हुने बलात्कार लगायतका जघन्य अपराध र बालबिवाह नेपालमा निर्मुल भएकै छैन । गुगलमा ससुराबाट बुहारी बलात्कृत शब्द लेखेर खोज्ने हो भने हज्जारौं नतिजा आउँछ । ‘बोक्सी’को आरोपमा मलमुत्र ख्वाइयो, लखेटियो, घर–गाउँ निकाला गरियो जस्ता समाचारपनि आइरहेका हुन्छन् । बाल बिवाह त समाजले अझै सामान्य नै ठान्छ ।

तर यी सबै अपराधले महिला (छोरी) लाई असह्य प्रताडित गरेको हुन्छ । यही कथा टपक्कै टिपेर अभिनेत्री केकी अधिकारीले चलचित्र बनाएकी छिन् । चलचित्रमा न गुण्डा र नायक छुट्टिनेगरी फाइट नै राखिएको छ, न त हिरो-हिरोइनको रोमान्स देखाउनेगरी गीत नै । पूरा समय कथा नै कथा घुमिरहन्छ । हलमा प्रवेश गरेर नेपाली फिल्म सुरु भएपछि अब यसो हुन्छ, त्यसो हुन्छ भनेर जो कोही दर्शकलेपनि अनुमान लगाउन सक्ने हुन्थे । यही कारण नेपाली फिल्म खस्कदो थियो । तर बोक्सीको घर पहिलो पटक हेरिरहेका दर्शकले प्रत्येक सिनमा फरक रुपमा कथा बगिरहेको महसुस गर्छन् । अब के हुन्छ ? कसैले आँकलन गर्न सक्दैनन् । यसैले हलमा अहिलेपनि दर्शक पाइरहेका छन् । राति ७ बजेपछिको शो, (जुन फिल्म सकिदा झण्डै ९ बज्छ) । त्यत्रो रातिपनि नेपालीहरुले यो फिल्म हेरिरहेका छन् ।

गत शुक्रबारदेखि सिनेमा हलमा चलिरहेको बोक्सीको घरले अहिलेपनि राम्रै दर्शक पाइरहेको छ । बुझिनँ मैले, बुझाइदेऊ कसैले… बोलको गीत अधिकांशको मुखैमा झुण्डिएको छ । समीक्षा अधिकारीको स्वरमा रहेको यो गीतले फिल्मको चर्चा बढाउन निकै मद्दत गर्‍यो। जुन गीत फिल्ममा एकमात्र छ र त्यो अन्त्यमा राखिएको छ ।

बोक्सीको घरले चर्चा मात्र पाएको छैन, कमाइ पनि राम्रो गरिरहेको छ। वितरक कम्पनी टि–फोक फिल्म्सका अनुसार फिल्मले दुई दिनमा दुई करोड १५ लाख रूपैयाँ कमाएको छ। यो फिल्म अभिनेत्री केकी अधिकारीको प्रोडक्सन हाउस केकी अधिकारी फिल्म्सले प्रस्तुत गरेको हो। सन् २०१६ मा मञ्चन गरिएको नाटक बोक्सीको घरलाई नै फिल्मका रूपमा प्रस्तुत गरिएको हो। नाटक सुलक्षण भारतीले लेखेका र निर्देशन गरेका हुन्। केकी आफूले नाटक हेरेकै बेला यसलाई फिल्म बनाउने सोचेको बताउँछिन्।

बोक्सीको घरमा बालखको बिहे हुने समयको कथा समेटिएको छ। केही दशक अघि अधिकांशको बिहे बच्चा बेलामा नै हुन्थ्यो । अहिले भने कानूनले नै बर्जित गरेको छ । तरपनि दुर-दराजमा अहिलेपनि भइरहेका छन् । यो फिल्मकी मुख्य पात्र हुन् जुनु अधिकारी। यो पात्रको बाल्यकालको भूमिकामा सुपला सापकोटा देखिएकी छन्। युवा अवस्थाको भूमिका केकी अधिकारीले निर्वाह गरेकी छन्। पितृसत्ता हाबी हुँदा महिलाहरूको जीवनमा कसरी नकारात्मक प्रभाव पारिरहेको छ भन्ने यो फिल्मले देखाएको छ। यसका केही दृश्यहरूले दर्शकलाई झसंग पनि बनाउँछ।

उदाहरणका लागि फिल्ममा ७ वर्षीया बालिकाको बिहे हुन्छ र उनका श्रीमानले बिहेकै रात यौन सम्पर्क राख्छन्। त्यसले उनको यौनाङ्ग छिया–छिया हुन्छ । रगतको धारा बग्छ । यसलाई देखाइएको दृष्यले साह्रै चसक्क हुन्छ । सबैले हेर्न मिल्ने सर्टिफिकेट दिइएको यो फिल्ममा यस्तो चै दृष्य नदेखाइदिएको भए हुन्थ्यो भन्ने जो कोहीलाई लाग्छ । यो कथालाई बुझ्नेगरी तर बालबालिकाले नबुझ्नेगरी केही कलात्मकता प्रस्तुत गरेको भए युनिभर्सल सर्टिफिकेटका लागि उपयुक्त हुन्थ्यो ।

बाल्यकालमा थाहै नहुँदा आफ्नै इच्छाले श्रीमानले बारम्बार यौन सम्बन्ध राख्छन् । तर युवती वयश्क भएपछि आफ्ना श्रीमानसँग यौन सम्बन्ध राख्न चाहन्छिन्। तर उनका श्रीमानले चाहना राख्दैनन्। त्यो बेलाको तडपपन सांकेतिक रुपमा साह्रै मज्जाले प्रस्तुत गरिएको छ । श्रीमानको मृत्युपछि बोक्सी भएर आफ्नै श्रीमान खाएको भन्ने आरोप लगाउँदै बस्नका लागि गोठमा लखेटिन्छ । किरिया बस्न कोरामा रहेकै बेला ससुराले बारम्बार बलात्कार गर्छन् । सासुले देख्छिन् । तर उल्टै बोक्सी भएकाले मन्त्रले तानेर आफू बुहारीको ओछ्यानमा पुगेको ससुराले भन्छन् । त्यसपछि धामी बोलाएर मल-मुत्र समेत खुवाएर । कपाल मुण्डन गरेर हात बाँधेर लखेटिन्छ । त्यो दृष्यले घटना कतै देखेका, सुनेका वा केही न केही भोगेकाहरु भक्कानिन्छन् । यस्ता केही दृश्यले फिल्म हेरेर सिनेमा हलबाहिर निस्किँदा पनि दर्शकको दिमाग हल्लाइरहन्छ।

त्यस्तै मानसिक उत्पीडनमा परेकी महिलालाई सहयोग गर्नुको साटो उनलाई बोक्सीको संज्ञा दिइन्छ। उनीमाथि अन्याय र दुर्व्यवहार गरिन्छ। यो घटना क्रम फिल्ममा सशक्त तरिकाले देखाइएको छ। बोक्सीको आरोपमा के–के गरिन्छ । त्यस्तोमा विश्वास गर्ने समाज कस्तो हुन्छ ? सबै देखाइएको छ । तर फिल्मको अन्त्य नायकीपनमा नहुँदा दृष्य र कथालाई विश्लेषण गर्न नसक्नेहरुको मथिङ्गलले यस्तो अझै हुन्छ ! भन्ने सोचेर समाज गलत बन्ने हो की भन्ने भय भने यो फिल्मबाट छ । बुझ्न सक्ने दर्शकहरुले भने अर्को सिक्वील निकाल्न कथा अझै राखेका कारण खोजी पत्रकारिताका लागि पुगेकी पत्रकारका स्टोरीहरु प्रकाशन /प्रसारण नभएको आँकलन गर्न सक्छन् । आमसञ्चार माध्यमबाट पत्रकारले बोक्सी प्रथाको अन्त्य गरेको वा समाजमा बोक्सी हुन्न । निमुखा/अवला नारीहरुलाई शारीरिक र मानसिक उत्पीडन गरेर मानसिक विछिप्ततामा पितृसत्ताले अपराध गरिरहेको हो । बोक्सी भनिएका आमा मानिस नै हुन् भन्ने यो फिल्मले सायद बुझाउन खोजेको छ । त्यो कथा अझै बाँकी छ । यद्यपी फिल्मबाट सकारात्मक सन्देश प्रवाह गर्न बाँकी राखेर कमर्सीयल बन्न खोज्दा समाजलाई अन्याय भयो की भन्ने अनुमान लगाउने सुविधा भने यो फिल्ममा छ ।

बोक्सीको घरमा केकी अधिकारीको अभिनय तारिफ योग्य छ। कथित बोक्सी को चरित्रमा देखिँदा केही अस्वाभाविक लागे पनि समग्रमा उनले आफ्नो भूमिकालाई पूर्ण न्याय गरेकी छन्। बालकलाकार सुपला सापकोटाले त आफूलाई अब्बल नै सावित गरेकी छन्। त्यस्तै रमा थपलिया, सुलक्षण भारती, सुस्मा निरौला, जीवन बराल, स्वेच्छा राउत, सविन बास्तोला लगायत कलाकारको अभिनय पनि राम्रो छ।

नाटक निर्देशन गरिरहेका सुलक्षण भारतीले यसैमार्फत् फिल्म निर्देशनमा डेब्यू गरेका हुन्। नाटकमा जमेका उनले फिल्म निर्देशनमा पनि आफ्नो खुबी देखाउन सफल भएका छन्। फिल्ममा फ्ल्यास–ब्याक दृश्यहरू अत्यधिक प्रयोग भएका छन्। पर्दामा सानी जुनु र ठूली जुनु एकसाथ देखिन्छन्। उनीहरूको कथा सँगसँगै अगाडि बढ्छ। यी दृश्यले कतिपय दर्शकलाई भने अलमल गराउँछ।

 

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस