२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोबाइलमा ठूलो स्वरमा बोलेको विवादमा फुपूकी छोरीको हत्या, ९ वर्षपछि पक्राउ

काठमाडौं । हत्या गरेर फरार भएको ९ वर्षपछि एक युवक पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले म्याग्दीको तत्कालीन कुहु गाविस–५ हालको मंगला गाउँपालिकाका ४७ वर्षीय समरबहादुर सार्कीलाई ९ वर्षपछि शनिबार पक्राउ गरेको हो।

कार्यालयकी डिएसपी सुरक्षा केसीका अनुसार उनीमाथि ९ वर्षअघि आफ्नै फुपूकी छोरी सुनमाया किसान (सार्की) को हत्या गरेको आरोप छ। सुनमाया कीर्तिपुरस्थित कुष्ठरोग आरोग्य आश्रममा बस्थिन्। उनी जेटिए थिइन्। त्यहाँ बसेर कीर्तिपुर कृषि कार्यालय जान्थिन्। आश्रममा सुनमायाका मामा गंगाबहादुर पनि बस्थे। समरबहादुर गंगाबहादुरका छोरा हुन्।

गंगाबहादुरकै बहिनीका छोरी हुन् सुनमाया। समरबहादुरले हत्या गरेको स्वीकारिसकेका छन्। त्यतिबेला समरबहादुर ढुंगे अड्डामा ज्यामी काम गर्थे। बेला–बेलामा बुबालाई भेट्न गइरहन्थे। २०७१ साल असोज ३१ गतेका दिन पनि समर बुबालाई भेट्न गएका थिए। तर त्यो दिन गंगाराम आरोग्य आश्रममा थिएनन्।

समरले प्रहरीलाई दिएको बयान अनुसार राति सँगै खाना खाएर समर सुतेको थिए। त्यतिबेला सुनमाया फोनमा बोलिरहेकी थिइन्। समरले सुन मायालाई सानो स्वरमा बोल्न आग्रह गरेको तर नमानेको बयानमा बताएका छन्। त्यसपछि फोन फालिदिएछन्। फोन फालेपछि विवाद बढेछ, डिएसपी केसीले भनिन्।

विवादकै क्रममा सुनमायाले समरबहादुरमाथि हँसिया प्रहार गरेको समरबहादुरले बयानमा भनेका छन्। हँसिया खोस्न खोज्दा सुनमायाले हातमा टोकिन् । त्यही झोकमा सुनमायाको टाउकोमा हातले हिर्काउँदा सुनमाया कोठाको पलङको धारमा ठोक्किएर बोहोस भएको उनले प्रहरीलाई बताएका छन्। आधा घन्टासम्म सुनमाया होसमा नआएपछि समस्या पर्ने डरले दुवै हातले घाँटी चिथेर मारेको प्रहरीलाई बयान दिएका छन्, डिएसपी केसीले भनिन्।

उनीहरू रातको ९ः१० बजेदेखि बिहानको १–२ बजेसम्म विवाद भइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ। हत्यापछि उनले बिहान ४ बजेतिर नजिककै शौचालयमा लास राखेर भारत भागेका थिए। त्यसयता फर्केर नआएको उनी बुबा गंगाराम कुष्ठरोगले ग्रस्त भएसँगै भेट्न आएका हुन्। लामोसमयदेखि उनीमाथि अपराध अनुसन्धान कार्यालयले निगरानी गरिरहेको थियो। उनी नेपाल आएको भन्ने गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको डिएसपी केसीले बताइन्। उनलाई काठमाडौं चान्लाखेल क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयको डिएसपी सुरक्षा केसीले जानकारी दिइन्। यो घटना कीर्तिपुरस्थि भएकाले उनलाई आजै कीर्तिपुर प्रहरी वृत्त पठाइएको छ। यस घटनाबारे थप अनसन्धान सोही कार्यालयबाट हुने डिएसपी केसीले जानकारी दिइन्।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस