२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सावधान ! यी खाना पकाउने तेलले ज्यान लिनसक्छ

Oil

काठमाडौं । ‘सावधान’ ! तपाईको भान्सामा तेलको नाममा खाद्य हैन विषादी भित्रि रहेको हुनसक्छ । आज हामी त्यस्ता तेलको चिरफार गर्दैछौं । पहिलो त, ग्याष्ट्रिक रोग निम्त्याउने मुख्य कारक दैनिक भान्छामा उपयोग हुने तेल नै मानिएको छ । बजारमा गुणस्तरहीन तेलको बिक्रीबितरण खुलेआम भइरहेको छ । तर नियमन गर्ने बाणिज्य बिभाग र खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको ध्यान पुग्न सकेको छैन । बाणिज्य र खाद्य प्रविधि विभागको नेतृत्वको असक्षमताले उद्योगीहरुले गुणस्तरहीन तेल बजारमा महंगो मूल्यमा बिक्री गर्दै जनस्वास्थ्यमाथि खेलबाड गर्दै आएका छन् ।

एकातिर गुणस्तरहीन तेल बजारमा छ्यापछ्याप्ती बिक्री भइरहेको छ । अर्कोतिर आधा दर्जन तेलहन उद्योगले खाने तेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ बृद्धि गरेका छन् । शिवशक्ति ग्रुपको फ्याम्ली, केएल दुगडको धारा तेल अहिले नेपालीका भान्छामा बढी प्रयोग हुने गरेको छ । तोरीमा नेपाल आत्मनिर्भर भइसकेको छैन । नेपालमा तोरीको मूल्य रु. १ सय ३५ रुपैयाँ प्रतिकेजी छ ।

एक किलो तोरीबाट ४ सय एमएलसम्म तेल उत्पादन हुन्छ । एक लिटर तेल उत्पादनका तीन किलो तोरी आवश्यक पर्छ । यो हिसाबले शुद्ध तोरीको तेल उत्पादन लागत ४ सय ३५ रुपैयाँ हाराहारी पर्छ । अहिले नेपाली बजारमा २ सय ९० रुपैयाँदेखि माथि प्रतिलिटर शुद्ध तोरीको तेल भनेर बिक्री भइरहेको छ । युक्रेन लगायतका देशबाट तोरीजस्तै देखिने कच्चा पदार्थ (र्यापसिट) ठूलो परिमाणमा भित्र्याउने गरेका छन् । जुन जस्वास्थ्यका लागि घातक मानिन्छ । क्यान्सर लगायतका नसर्ने रोगको मूल कारक नै शुद्ध तोरीको तेलका नाममा यस्तै कच्चा पदार्थबाट उत्पादित बिषाक्त तेल नै भएको चिकित्सकहरुले भन्दै आएका छन् ।

नेपाली बजारमा बिक्री हुँदैआएका तेलका बारेमा कुनै निकायले पनि परीक्षण गरेको पाइँदैन । अनुगमन गर्ने बाणिज्य विभागको ध्यान खुद्रा पसलले मूल्यसूची राखे नराखेको र नवीकरण भए नभएको झिनामसिना कुरामै सीमित छ भने गुणस्तर परीक्षण गर्नुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागमा शुद्धता मापन गर्ने जनशक्ति नै छैन । यी बिभागका प्रमुखहरु बिषाक्त तेलको गुणस्तर परीक्षणमा भन्दा पनि ती उद्योगका मालिकसँँग लाभ लिनमै सीमित छन् । मोटो रकम लाभ पाएपछि बिषाक्त तेललाई पनि शुद्ध तोरीको तेल भन्दै भ्रमपूर्ण बिज्ञापनको मोडल बन्नेमा कलाकारदेखि पाइलटसम्मलाई भ्याईनभ्याई छ । क्याप्टेन बिजय लामा धारा शुद्ध तोरीको तेलबाट स्वस्थ मुटु हुने भ्रमपूर्ण प्रचार गर्न तल्लीन छन् । उनले मुटु स्वस्थ राख्न धारा जस्तो तेलको उपभोग गरिरहेका छन् बिदेशी ब्रान्ड भान्छामा भित्र्याएका छन्, त्यो उनैले जानून् ।

जनस्वास्थ्यमा घातक असर गर्ने भ्रमपूर्ण विज्ञापन प्रचार प्रसार गर्नेहरुलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतका निकायले छुट दिएका हुन् ? चुरोट, मदिरा जस्ता जनस्वास्थ्यमा असर गर्ने बिज्ञापनमा बन्देज लगाउने प्रेस काउन्सिलको ध्यान पनि यतातर्फ जान जरुरी छ । सामान्य बिषयलाई तिलको पहाड बनाउने उपभोक्तावादी संघ संगठनहरु बिषाक्त तेल बिक्रीबाट जनस्वास्थ्यमाथि खेलबाड मौन बस्नुले उनीहरुबाट तेल उद्योगको चास्नीमा डुबेका हुन् भन्ने प्रश्न उठेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस