२०८१ असोज १८ गते शुक्रवार | 2024 October 4th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कस्तो जहाजमा आए कतारी राजा ?

११ वैशाख, काठमाडौं । कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानी दुई दिने राजकीय भ्रमण सिलसिलामा नेपाल आएका छन् । मंगलबार दिउँसो उनी निजी जहाज ‘ए३४०–५००’ बाट काठमाडौं आएका हुन् । उनको यो जहाजको कलसाइन ‘आमिरी–६’ हो ।

यो जहाज कस्तो खालको हो र यसका विशेषता के छन् भन्ने चासो स्वाभाविक मानिन्छ । कतारी अमिर थानीले चढ्ने यो जहाज युरोपेली जहाज निर्माता कम्पनी एयरबसले उत्पादन गरेको हो । थानीले यो जहाज आफ्ना अधिकांश औपचारिक भ्रमणका बेला प्रयोग गर्ने गर्छन् । यो जहाजको मोडेल ‘ए३४०–५००’ सिरिजको हो । यस्तो जहाजलाई यात्रुवाहक बनाउँदा यसमा ३ सय १३ सिट क्षमता हुने गर्छ ।

चार इन्जिन भएको यो जहाज लामो दुरीको उडानमा प्रयोग हुने गर्छ । यसले एकतर्फी ९ हजार नटिकल माइल उडान गर्न सक्छ । यो भनेको एकतर्फी १६ हजार ६ सय ६८ किलोमिटर उड्न सक्छ । यति दुरी भनेको बेलायतको लन्डनबाट पश्चिम अस्ट्रेलियाको पर्थसम्म ‘ननस्टप’ उडान गर्नु हो । एयरबसले उत्पादन गर्ने यो जहाजको मूल्य अहिले २६ करोड १० लाख अमेरिकी डलर (साढे ३४ अर्ब रुपैयाँ) बराबर पर्छ ।

यसमा ‘रोल्स रोयर ट्रेन्ट ५५३ टर्बोफ्यान’ सिरिजका चारथान इन्जिन जडित छ । यसको अधिकतम गति ८ सय ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यो जहाज ४१ हजार ४ सय ५० फिट उचाइसम्म उड्ने गर्छ । यसले प्रतिमिनेट ५ हजार ७ सय फिटका दरले उचाइ लिँदै उड्न सक्छ ।

एयरबसले यस्तो सिरिजको जहाज पहिलो पटक सन् २००२ फेब्रुअरी ११ मा सफल परीक्षण उडान गरेको थियो । त्यसपछि यसले सोही वर्ष डिसेम्बर ३ मा प्रमाणीकरण भएको थियो । यस्तो जहाज उडाउने पहिलो वायुसेवा कम्पनी क्यनडाको सरकारी वायुसेवा एयर क्यानडा हो । कतारको सरकारी वायुसेवा कम्पनी कतार एयरवेजसँग हाल चारथान यस्ता जहाज सञ्चालनमा छन् ।

अमिरको जहाज त्रिभुवन विमानस्थलको २ नम्बर बेमा, के छन् सुविधा ?

कतारका अमिर थानीले ल्याएको निजी जहाज ए३४०–५०० हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङ बे नम्बर २ मा राखिएको छ । यो बे सामान्यतया अतिविशिष्ट व्यक्ति (भीभीआईपी) जहाज राख्न प्रयोग गरिन्छ । सामान्य अवस्थामा समेत यो पार्किङमा राखिने जहाजलाई अन्य बेको तुलनामा बढी पार्किङ शुल्क तिर्नुपर्छ । कूटनीतिक नियोगका जहाजलाई भने शुल्क लिने गरिँदैन । विमानस्थल स्रोतका अनुसार पार्किङ बे नम्बर २ मा सुरक्षा निकायको पूर्णनिगरानी हुन्छ । अन्य बेको तुलनामा यो फराकिलो समेत छ । सोही कारण भीभीआईपी पाहुनाका जहाज यसै बेमा राख्ने गरिन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस