२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले प्रतिनिधि परिषद् बैठकमा निःशुल्क वाईफाई, सबै दस्तावेज डिजिटल

७ वैशाख, काठमाडौं । नेकपा एमालेले भोलिबाट ललितपुरको गोदावरीमा सुरू हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् । परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाटै लिने व्यवस्था गरिएको बताए । उनका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिनेछ ।

२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, दशौं महाधिवेशनका दुई हजार ७३ जना प्रतिनिधि बाहेक केन्द्रीय कमिटीका सदस्य, विभिन्न निकायमा मनोनीत सदस्य समेत यो बैठकमा सहभागी हुन लागेका हुन् । दुई दिन चल्ने यो बैठकले दशौं महाधिवेशन यता पार्टीले गरेको निर्णयहरुको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने महासचिव पोखरेलले बताए ।

 

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस