२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रसिद्ध बिस्केट जात्रा आजदेखि सुरु, भैरवनाथ मूल देवता र बेताल देवता रथमा विराजमान

The famous Bisket Jatra begins today

२७ चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म परम्परागत विधिअनुसार मनाइने विश्वप्रसिद्ध बिस्केटजात्रा आज चैत २७ गतेदेखि सुरु भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिंखेलमा लिङ्गे जात्रा मनाएर साँझ लिङ्गो ढालेर मनाइन्छ ।

जात्राका लागि अत्यावश्यक भैरव र भद्रकालीको रथ निर्माण लगायतका सबै तयारी पूरा भएको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् । सरकारी पूजा बिहान ११ बजे र सर्वसाधारणको पूजा दिउँसो ३ बजेभित्र सकेर दिउँसो ३ बजेदेखि भैरवको रथ तान्न सुरु गर्ने योजना रहेको उनले जानकारी दिइन् । दिउँसो ३ बजेदेखि रथ तानेर अपराह्न ५ बजे सम्पन्न गर्ने तयारी छ । गुठी संस्थान भक्तपुरले रथयात्राको सम्पूर्ण खर्च व्यवस्थापन गरेको छ ।

लिच्छवीकालदेखि सुरु भएको बिस्केट जात्रा वैशाख १ गतेभन्दा चार दिनअगाडि भैरव र भद्रकालीको रथयात्रा गरी सुरु गर्ने परम्परा छ । तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

चैत २६ गते हनुमान ढोकाबाट खड्ग ल्याएर गुठीका एक कर्मचारीलाई राजाको प्रतीक बनाएर बाजागाजासहित च्याङ्ग्रा गणेश मन्दिरको जङ्गलमा रुखलाई पूजा गरेर खड्ग भित्राएपछि बिस्केट जात्रा सुरु हुने परम्परा छ । रथ तान्ने क्रममा टोलवासीबीच ढुंगा हानाहान र झडप हुने गरेकाले शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ । जात्रालाई मर्यादित बनाउन मदिरा बिक्रीवितरणमा रोक समेत लगाइएको छ । जात्रा सुरु हुनुपूर्व शान्ति र सद्भावको कामना गर्दै भक्तपुर नगरपालिकाले बिहान दत्तात्रय मन्दिरदेखि न्यातपोलसम्म र्‍याली आयोजना गरेको छ ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस