सर्लाही, चैत २६ गते । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुर मुसहर बस्तीमा आगलागी हुँदा छ वटा घर जलेर नष्ट भएका छन् । पाँच वटा घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीय रामविश्वास रामको घरबाट सुरु भएको आगलागीमा परेर उहाँसहित दिनेश माझी, जोखु मुखिया, भुर्री देवी, राजनारायण माझी र विन्देश्वर माझीको घर पूर्ण रुपमा जलेको छ ।
यस्तै, आगलागीमा परेर राजनारायण माझी, किशोर मुखिया, हर्ष मुखिया, मिश्री माझी र नरेश रायको घरमा आंशिक क्षति पुगेको छ । सोमबार मध्यान्ह साँढे ११ बजेदेखि सुरु भएको आगलागी स्थानीय वासिन्दा, सुरक्षाकर्मी र हरिवन तथा मलङ्गवा नगरपालिकाबाट आएका दमकलको सहयोगमा दिउँसो १ः१५ तिर नियन्त्रणमा आएको सर्लाहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट २६ लाख रुपियाँ बराबरको भएको छ । आगलागीको कारण प्रष्ट हुन सकेको छैन । आगलागीबाट घर जलेर नष्ट भएपछि अति विपन्न मुसहर समुदायको बिचल्ली भएको छ । खरले छाएका अधिकांश घर तीव्र गतिमा चलेको हावाहुरीले एकै छिनमा खरानी भएका स्थानीयले बताएका छन् ।
बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन रायले आगलागी पीडितलाई राहत स्वरुप तत्काल खानका चामल, दाल, आलु, तेलसहितका खाद्यान्न वितरण गरिएको बताए । सर्लाहीसहित तराई क्षेत्रमा केही दिनदेखि सुक्खापन बढेर तीव्र गतिमा हावाहुरी चल्दा आगलागीका घटना बढेको छ ।