२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंको वायु विश्वमै तेस्रो अस्वस्थकर, भारत खराब सूचीको पहिलो स्थानमा

Kathmandu New Delhi Pollution

२६ चैत, काठमाडौं । नेपालको राजधानी काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छन् । सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।

नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ । एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ । अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । जनस्वास्थ्यविद कमल रानाभाट अहिले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ । २०७७ साल चैतमा काठमाडौंको वायु प्रदूषण उच्च भएपछि सरकारले चार दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।’

खुमलटारको वायु अन्त्यन्तै अस्वस्थर

नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभाग अन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार बिहानपख खुमलटारको वायु गुणस्तर सूचकांक (एक्यूआई) २१० पुगेको थियो । खुमलटार क्षेत्रमा अत्यन्त अस्वस्थकर वायु रहेको जनाउ दिन यसलाई भान्टा रंगले चित्रित गरिएको छ । यसैगरी रत्नपार्कको १७२, शंखपार्कको १६६, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १६६, भैंसेपाटीको १६५, भक्तपुरको १६० र धनकुटाको १५२ छ ।

वायु प्रदूषणका कारण

वायु प्रदूषण बढ्नुमा विभिन्न कारणहरु हुन्छन् । नेपालमा प्राय चैतदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने गर्दछ । वायु प्रदूषण बढ्नुमा डढेलो एक महत्वपूर्ण कारण हो । अर्को कारक पर्याप्त वर्षा नहुँदा र हावा नचल्दा वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी हुनु पनि प्रदूषणको कारण हो । काठमाडौं उपत्यका कचौराको आकार जस्तो भएकाले यहाँको प्रदूषण हट्न कि त पानी पार्न पर्नुपर्छ कि भने तीव्र गतिमा हावा चल्नुपर्छ । अहिले यी दुवै स्थिति नभएकाले हावामा धुलोको कण बढेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस