२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमान् र सासुको किरिया गर्दै ३६ वर्षीया बबिता कुर्दैछिन् एक्ला छोराको खुट खबर

गोरखा । श्रीमान् शंकरको क्यान्सर र सासु जुनकिरीको दुर्घटनामा परेर निधन भयो । एक्ला छोरा विवश तीन दिनदेखि त्रिशूली नदीमा बेपत्ता छन् । असहृय पीडा सहँदै गोरखा नगरपालिका–७ पौवाखेतकी ३६ वर्षीया बबिता रोका सासु र श्रीमान्‌को किरिया बसेकी छन् । गोरखा नगरपालिका–७ की बबिता रोका, श्रीमान् शंकरको क्यान्सर र सासु जुनुकिरीको दुर्घटनामा निधन भएपछि काजक्रियामा उनी आफै बसेकी छिन् ।

‘मेरो बुवा वा माइलो बुवा किरियामा बस्ने सल्लाह हुँदै थियो,’ देवर नाता पर्ने विकास रोकाले भने, ‘नघट्नु घटना घटिसक्यो, अरुलाई दुख दिनुहुन्नँ, साइडबाट सहयोग गर्नुस्, म आफैँ बस्छु भन्नुभयो, सासु र श्रीमान्‌को उहाँ आफैँले किरिया बस्नुभएको छ । सासु र श्रीमान्‌को किरिया बसेकी बबिता बेला–बेला बेपत्ता भएका एक्ला छोराबारे सोधिखोजी गर्दै भक्कानिन्छिन् । बबितालाई सम्झाउन आफन्त र छिमेकी उनको घरमा आउजाउ गरिरहन्छन् । ‘भवितब्य कुरा भइहाल्यो, आलोपालो दुई जना–चार जनाले उहाँलाई छाडेका छैनौं,’ विकासले भने ।’

शनिबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारास्थित पृथ्वीराजमार्गबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको निधन भएको थियो । दुर्घटनामा निधन भएकाहरुको शनिबार रामशाहघाटमा सामूहिक अन्त्येष्टि गरिएको छ । पाँचै जना एकै परिवार हुन् । ट्याक्सीमा सवार बबिताका छोरा १८ वर्षीय विवश रोका भने तीन दिनदेखि बेपत्ता छन् ।

पौवाखेतका स्थानीय बेपत्ता विवशको खोजीमा दिनदिनै त्रिशूली किनार धाइरहेका छन् । विवश कक्षा–१२ को परिक्षाको तयारीमा थिए । ‘विवश उहाँको एउटै छोरो हो, क्यान्सरबाट बुवाको निधन भएपछि पशुपति आर्यघाटमा दागबत्ती दिएर संस्कारको अरु काम घरमै बस्ने भनेर फर्कदै गर्दा यस्तो घटना घट्यो,’ विकासले भने,‘श्रीमान् र सासु सँगै गुमाएकी भाउजु एक्लो छोरा बेपत्ता भएको चिन्ताले झनै अतालिनुहुन्छ ।’

बबिताकी सासु जुनकिरीलाई दागबत्ती भने देवर हरिबहादुरले दिएका थिए । १० दिनमा संस्कारको काम टुंग्याउने परिवारका सदस्यले बताए । दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन भएपछि आफन्त र ११ घरधुरीको बस्ती पौवाखेतमा सन्नाटा छाएको छ । क्यान्सरबाट पीडित बनेर शुक्रबार निधन भएका शंकर रोका वैदेशिक रोजगारबाट फर्किएर दुई वर्षदेखि काठमाडौंमा ट्याक्सी चलाउँदै आएका थिए । अघिल्लो फागुनमा कलेजो र पित्तथैली बीचमा क्यान्सर देखिएपछि शंकर ट्याक्सी बेचेर उपचारमा लागे । गत शुक्रबार ललितपुरस्थित पाटन अस्पतालमा निधन भएका उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कारको काम सकेर आफन्तहरु फर्कँदै गरेको ट्याक्सी दुर्घटना हुँदा परिवारको पाँच जनाको निधन भएको थियो ।

शंकरकी श्रीमती बबिता भने गृहणी हुन् । बविताका ससुराको यस अघि निधन भइसकेको छ । परिवारमा उनी एक्ली छिन् । ‘घटना घटिहाल्यो, बावु फेला नपरेर झनै असहृय भएको छ, जे जस्तो भए पनि भेटिदिए चित्त बुझ्थ्यो,’ विकासले भने, ‘आज पनि घटनास्थलबाट पाँच किलोमिटरसम्म नदी किनारमा खोजी गर्‍यौं, भोली पनि जाने तयारीमा छौं । गोरखा नगरपालिका–७ की ७० वर्षीया जुनकिरि रोका, उनकी छोरी गोरखा–४ की ४१ वर्षीया हरिमाया उपरकोटी, हरिमायाका ९ वर्षीय छोरा आगमन र जुनकिरीकी छोरी २९ वर्षीया अन्जना रोका र ट्याक्सी चालक समेत रहेका जुनकिरीका ज्वाइ गोरखा–५ अर्जुन सिर्मलको दुर्घटनामा निधन भएको थियो ।’

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस