१९ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ ।
काठमाडौं विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले विमानस्थलको पूर्वाधार सुधारको क्रममा उत्तरतर्फ ट्याक्सी-वे निर्माण तथा विस्तारको काम भइरहेकाले आजदेखि बौद्धतर्फको टु-जिरो रनवेबाट जहाज अवतरण गर्न रोक लगाइएको जानकारी दिए । यसबाट पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । यस्तो रोक अनुमानित तीन महिनाका लागि भएको तिवारीले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले एडिबीको सहयोगमा सन् २०१०-२०२८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधारका लागि गुरुयोजना तयार गरेर विभिन्न काम गर्दै आएको । एडिबीले सन् २००९ देखि नै गुरुयोजना अनुरूप हवाई यातायात क्षमता अभिवृद्धि आयोजना (एटीसीईपी) मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको प्रारम्भिक चरणमा सहयोग गर्दै आएको छ ।
एटीसीईपीको आयोजना क्षेत्रमा धावन मार्गलाई ट्याक्सी वेका रूपमा उपयोग घटाउन समानान्तर ट्याक्सी वेको उत्तरी भागलाई विस्तार गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढी विमानहरू राख्न यात्रु चढाउन/ओराल्न र सामान राख्न/झिक्नका लागि विमान रोक्ने क्षेत्र (अप्रोन एरिया) विस्तार गर्ने र धावन मार्गको दक्षिणी भागमा ३०० मिटर धावन मार्ग विस्तार गर्ने लगायत काम छन् ।