पाल्पा, १६ चैत । पाल्पाको रिब्दिकोट गाउँपालिका १ ख्याहाकी १९ वर्षीया पद्मा सुनारको विभत्स हत्या अभियोगमा प्रहरीले सागर भनिने देवलाल सार्कीलाई सार्वजनीक गरेको छ । गत मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो । प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी हत्यामा संलग्न भएको भन्दै शुक्रबार छिमेकी लप्सीखोलाका १९ वर्षीय सार्कीलाई सार्वजनिक गरेको हो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा सार्कीलाई निगरानीमा राखी घटना भएको पछिल्लो दिन नै नियन्त्रणमा लिएको थियो ।
घटनास्थलबाट प्रहरीले हत्याको समयमा प्रयोग भएका सामग्री बरामद गरी अभियुक्त सार्कीसँगै सार्वजनिक गरेको छ । उनको घरबाट रगत लतपतिएको कपडा र धारिलो हतियार फेला परेको छ । गोठबाट मृतकको मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।
सुनारको गत मंगलबार दिउँसो १२ बजे विभत्स हत्या भएको थियो । सामान्य विवादका कारण आवेग थाम्न नसकी धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष अभियुक्त सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । घटनापछि प्रहरीले अभियुक्त सार्कीलाई सुक्ष्म अनुशन्धानको निगरानीमा राखेका कारण अभियुक्तलाई पक्राउ गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।
घरभन्दा केही पर एकान्त जंगलमा सुनारमाथि धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । देवलालको घर नजिकै रहेको धारामा पद्मा नुहाउन र लुगा धुन गएकी थिइन् । उनीहरूबिच सामान्य विवाद भएको प्रहरी उपरीक्षक चन्दले बताए । शंकाको आधारमा घटना घटेकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो । मृतक पद्माका बुवा दलबहादुर सुनारले हिजो नै किटानी जाहेरी दिएका छन् । शुक्रबारै मुद्दा दर्ता गरेर म्याद थपका लागि अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान ९ बजे नुहाउन गएकी उनी दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि परिवार तथा छिमेकीहरुले खोजी गरेका थिए । खोजी गर्ने क्रममा घरभन्दा केही टाढा रहेको बाटो मुनी उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो । उनको हातका औंला, पाखुरा, घाँटीमा धारिलो हतियार प्रयोग गरी काटिएको छ । शव पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । देवलाल गाउँघरमा पहिलेदेखि नै आपराधिक मनोवृत्तिका भएको स्थानीय बताउँछन् ।