२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

तिघ्रामा चक्कु हानेर २ जनाको हत्यापछि मोटरसाइकल फरार, पैसा लिन आउँदा प्रहरीको पासोमा परे

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर चलाइरहेका खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई व्यक्ति हत्यामा जेल परेका छन् । उनीहरु २ युवाको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । घटनामा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई समेत कर्तव्य ज्यानको कसुरमा थुनामा राखिएको छ । जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।

यी ४ जना र फरार रहेका १ गरी ५ जनाको समूहले पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रोबस राईमाथि चक्कु प्रहार गरी आइतबार राति १० देखि साढे १० बजेको समयमा हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । होलीको राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रोबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पुर्‍याइएको थियो । दुवै जनाको मृत्यु भएपछि राति ११ बजे घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो ।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजेको समयसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको थियो । पक्राउ परेका खाजाघर सञ्चालकद्धय (विजय र सुलभ) र विशाल र छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । अनुसन्धानको क्रममा कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको देखिए उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुर आकर्षित हुने बताइएको छ । पक्राउ परेका ४ जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ । फरार रहेका व्यक्तिको विवरण भने प्रहरीले गोप्य राखेको छ । प्रहरीले फरार प्रतिवादी बनाइएका व्यक्तिले हत्याको मुख्य व्यक्ति भनिएका विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पुर्‍याएको खुलेको छ । बिहानीपख विजय पैसा लिन भन्दै घर आएको बेला प्रहरीले पक्राउ गरेको थियो । फरार व्यक्ति घटना भएको बेला खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउनसमेत सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका डी–पोपिना खाजाघरका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको परिसरका एसएसपी शेखर खनालको भनाइ छ । विवाद भएपछि भन्सामा भएको चक्कु निकाले विजयले प्रहार गरेका थिए । विजयलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भइ खाजाघर खोलेका थिए । खाजाघरका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको अनुसन्धान अधिकारीहरूको भनाइ छ । अर्का प्रतिवादी विशाल भने मृतक रोबस र हाल पक्राउ परेका छेङ्वीहाङसँग विवाद गर्ने व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूबाटै सुरु भएको विवाद उग्र बन्दा २ जनाको ज्यान गएको थियो ।

तिहारदेखिको रिसइबी

अहिलेको घटनालाई प्रहरीले आवेश प्रेरित घटना भएको बताएको छ । पुरानो रिसइबी भए पनि हत्या गर्ने कुनै योजना नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । मदिरा सेवनपछिको आवेशमा हत्या भएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेश सुवेदीले बताए । २ समूहबीच गत तिहारदेखि रिसइबी भए पनि होलीको राति आवेशमा हत्या भएको प्रहरीको भनाइ छ । गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । साहिलमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरू गरिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ ।

होलीको दिन छेङ्वीहाङ, नाम्नु राई, विराट राई, अनन्त राई, रोवस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए । साँझपख भने रोबस आफ्नो घर फर्किएका थिए । रोबस घर गएपछि विजय राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १०–११ जना बसेर डी–पोपिना खाजाघरमा मदिरा सेवन गरेका थिए । रोबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना खाजाघरमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताए । त्यसपछि छेङ्वीहाङले राति ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै बोलाएका थिए । रोबस सहितको टोली होटलमा पुगेर ‘ग्याङ्फाइट’मा उत्रिएपछि घटनाले उग्ररूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘रोबसको समूह आधा बन्द रहेको सटर खोली मेरो भाइलाई हेप्ने भन्दै भित्र प्रवेश गरेपछि झगडा सुरू भएको देखिन्छ । त्यसपछि होटल सञ्चालक विजयले चक्कु प्रहार गर्दा २ जनाको ज्यान गएको हो’ एसएसपी खनालले भने । रोबसलाई विजयले चक्कु प्रहार गर्न लाग्दा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजनको तिघ्रामा चक्कु लागेको थियो । तिघ्रामा चोट लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको समेत ज्यान गएको प्रहरीको भनाइ छ । विजयकै चक्कु प्रहार रोबसको छातीमा लागेको थियो । प्रहरीले घटनास्थलबाट चक्कु, रगत लतपतिएको ज्याकेट, चप्पललगायत सामग्री बरामद गरेको छ ।

प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस