२ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका जीवन चलाउने भारतको दिल्लीमा रहेको खुल्न आएको छ । तस्करीको नाईके भनिएका चलाउनेले प्रहरी–प्रहरीहरुबीचको द्धन्दका कारण आफू भाग्न र लुक्न बाध्य भएको बताएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी सञ्जयसिंह थापा र डीएसपी दुर्गाराज दाहालले ६० लाख रुपैयाँ मागेको र आफूले दिन नसक्दा आज सबै आरोप आफूमा थोपरिएको दाबी उनको छ ।
प्रहरीले खोजी गरिरहेका चलाउनेले एक मिडियाको युबट्युबमा राखिएको भिडियो कुराकानी गर्दै थापा र दाहालले एक रेष्टुरेन्टमा भेटेर पैसा मागेको बताएका हुन् । तर, पैसा नपाएपछि प्रतिवादी बनाइएको उनले दाबी गरेका छन् । उनले नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीमाथि समेत गम्भीर आरोप लगाए । ज्ञवाली नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाउने अधिकृत हुन् । त्यसबेला कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा उनलाई उपत्यका प्रहरी प्रमुखबाट हटाइएको थियो । ‘उहाँले आईजीपी बन्ने बेला एक करोड रुपैयाँ माग्नुभएको थियो, पछि मलाई उहाँले नै भाग्न लगाउनुभयो’, उनले भनेका छन् । तर, लगत्तै सीआईबीमा भगाउन लागेको भनेर सूचना दिएको उनले खुलाएका छन् ।
प्रहरी अतिरिक्त महानिरीक्षक श्यामराज ज्ञवालीले भने चलाउनेसँग आफ्नो सम्बन्ध नभएको बताएका छन् । आफूले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा काम नगरेको भन्दै उनले चलाउनेको विषय आफूसँग सम्बन्धित नभएको बताएका छन् । तर अब यो प्रकरणले निक्कै रोचक मोड लिने देखिन्छ ।
उनले आफूसँग चारसय करोड सम्पत्ति रहेको, करोडौं ऋण रहेका कारण देश छोडेर भाग्न नसक्ने बताउँदै चाँडै अदालतमा आत्मसर्मपण गर्ने बताए । आफ्ना दुई सन्तान रहेको र हज्जारौंलाई रोजगारी समेत दिइरहेका कारण आफ्नो ज्यान र व्यवसाय बचाउन फरार रहेको उनले बताएका छन् ।