२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विराटनगरमा स्टाफ नर्सको शव शौचालयमा भेटियो, प्रेमीले हत्या गरेको आशंका

२ चैत, विराटनगर । विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटिएको छ । विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

डीएसपी दाहालका अनुसार उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् । डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको उनले बताए । सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो ।

डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ । ‘शव एट्याच कोठाको शौचालय भित्र भेटिएको छ, हत्या शौचालयमा भएको हो कि कोठामा भन्ने विस्तृत रुपमा खुलेको छैन,’ उनले भने,’ परिवारका सदस्यलाई खबर गरेका छौं, आफन्त आइपुगेपछि थप विषय खुल्छ ।’

हत्यामा संलग्नको खोजी भइरहेको उनले बताए । उनको हत्यामा प्रमीको संलग्नता भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ । २१ फागुनमा मोरङको पथरीमा १४ वर्षीय ज्ञानमति राईको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले प्रेमी बाराको सिमरामा बस्दै आएका मोरङको ग्रामथान गाउँपालिका– ४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरेको थियो।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस