२०८१ असोज १५ गते मङ्गलवार | 2024 October 1st Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बन्दीपुरको चुनपहरा : पहिला बाँदर कुद्ने भीरमा,अहिले पर्यटक यसरी रमाउँछन्

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर स्थित चुनपहरा चट्टान आरोहणका लागि हब बन्दै गएको छ । कुनै समयमा बाँदर कुद्ने यस भीरमा अहिले साहसिक खेल चट्टान आरोहणमा पर्यटकहरु रमाउने गरेका छन् । वि.सं. २०६० देखि उक्त पहरामा चट्टान आरोहण सुरु गरेपछि पर्यटकहरुको चहलपहल बढ्नुका साथै आम्दानीको स्रोत बन्न थालेको छ । साहसिक खेल चट्टान आरोहण गर्न पर्यटक र आरोहीका लागि पहिलो रोजाईमा चुनपहरा बन्ने गरेको बिमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सुरक्षाका दृष्टिले उपयुक्त स्थान रहेको हुँदा देश–विदेशबाट चट्टान आरोहण गर्न मानिसहरु आउने गरेका छन् । फागुन महिनामा मात्रै दुई सय पच्चीस जनाले चट्टान आरोहण गरिसकेका छन् । नेपाल प्रहरीको कमाण्डो तालिम र नेपाल माउण्ट एशोसिएशन गाइड तालिम गराउने क्रममा चट्टान आरोहण गराएको श्रेष्ठले बताए । चट्टान आरोहणका लागि माघ, फागुन र चैत्र महिना मुख्य सिजन हो,उनले भने, ‘बुटवल पुलिस एकेडमी जर्घाबाट प्रहरी निरीक्षकको कमाण्डो तालिमका लागि एक सय पचास जनाको टोली आउँदै छन् ।’

सिजन सुरुवात भएसँगै आन्तरिक एवं बाह्य पर्यटकहरु चट्टान आरोहणका लागि आउन थालेका छन्, उनले भने,‘ नेपाली सेना, शसस्त्र र कमाण्डो लगायतका तालिम कोर्ष गर्ने बाहेक अन्यलाई रु. एक सय शुल्क लिने गरिएको थियो ।’ उक्त शुल्क पनि कोरोनाको समय पछि नलिने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
पहरामा १६० वटा फलामे नटबोल्ट गाडिएका छन । त्यही नटबोल्टमा झुण्डिएर पर्यटक र आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाख बढी पर्यटकले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ ।

पृथ्वीराजमार्ग देखि करिब ७० मीटर उचाईको दूरी रहेको यस पहरामा आरोहण गर्ने व्यवस्था मिलाइएको छ । स्वदेशी तथा बिदेशी पर्यटकहरुको चट्टान आरोहणका लागि पहिलो रोजाई बन्ने गरेको छ । उक्त पहरामा अठ्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । एकै पटकमा अठ्ठाइस जनाले चट्टान आरोहण गर्न सक्ने छन् । पृथ्वीराजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयबासीको सहयोगमा सुरक्षित गरिएको उनले बताए । राजमार्गमा चार लेनको सडक बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी मस्र्याङ्दी नदी किनारबाट वाल लगाएर सडकको मापदण्ड पूरा गर्ने कार्य भैरहेको छ ।

चट्टान आरोहणका लागि प्रशिक्षणस्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भईरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयबासीको पहलमा संरक्षण गरिएको हो । राजमार्ग बिस्तारको क्रममा पहरामा विस्फोट गरेर फुटाइयो भने यहाँका पर्यटकीय गतिविधि रोकिनुका साथै पर्वतारोहीलाई समेत प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयबासी संरक्षणमा जुटेका थिए । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरुको आर्कणस्थल बन्दै जाँदा चहलपहलको साथै आम्दानीको स्रोत बन्दै गएको छ । पर्वतारोही प्रशिक्षणका लागि यही पहरामा आएर प्रशिक्षण लिने भएकाले पनि यस पहराको महत्व बढेको छ, उनले भने ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस