२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माधव नेपाल समेत मिसिएर टुंगियो गठबन्धनमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ?

काठमाडौँ । सत्ता गठबन्धनको कार्यदल स्तरमा मन्त्रालय भागबन्डा टुङ्गिएको छ । प्रधानमन्त्रीसहित २१ मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री सहित ६ वटा मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नेकपा एमालेले भौतिक पूर्वाधारसहित ७ वटा मन्त्रालयमा मन्त्री र थप एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह सहित ४ र जनता समाजवादी पार्टीले २ वटा मन्त्रालय पाउने भएको छ । जनता समाजवादीले ३ मन्त्रालयको दाबी छोडेको थिएन । नेकपा एकीकृत समाजवादी सरकारमा आउने निर्णय भइसकेका कारण २ मन्त्रालय दिने सहमति भएको छ ।

कार्यदल स्तरमा तयार भएको यो भागबन्डा अब केहीबेरमा गठबन्धनका शीर्ष नेताहरू बसेर हस्ताक्षर गर्ने कार्यदलका एक सदस्यले जानकारी दिए । मन्त्रालय टुंगो लागेपछि दलहरुले मन्त्रीहरुपनि टुंगयाउँदै आएका छन् । एमालेले रघुवीर महासेठको नेतृत्वमा मन्त्रीहरूलाई सरकारमा पठाउने भएको छ । महासेठले नयाँ मन्त्रिमण्डलमा उपप्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको जिम्मेवारी पाउनेछन् । पदम गिरी यसअघि नै विना विभागीय मन्त्री बनिसकेका छन् । उनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ । अन्य मन्त्रीहरूको नाम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेलुकासम्म अन्तिम टुङ्गो लगाउने बताइएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय पाएको छ । उपसभापति स्वर्णिम वाग्लेले बताए अनुसार रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

भगबण्डा अनुसार नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् । त्यस्तै उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका हुन् । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । जसपाले भने मन्त्रीको टुंगो लगाएको छैन । नेकपा एसले जारी सचिवालयबाटै मन्त्रीको टुंगो लगाउनेछ ।

 

प्रकाशित मिति : २०८० फाल्गुन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस