२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेनाल्टीमा नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिपको उपाधि जित्यो

काठमाडौं । पेनाल्टीमा नेपाललाई हराउँदै जोर्डनले वाफ महिला च्याम्पियनसिपको उपाधिमाथी छैठौं पटक कब्जा जमाएको छ । साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा भएको फाइनल खेलमा निर्धारित समयमा दुबै टोलीको २–२ गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टीबाट टुंगो लगाउने निर्णय भएको थियो । पेनाल्टीमा खेलाडी चुकेपछि नेपाल पराजित भयो । निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो ।

जोर्डन साबिकसहित छैठौं पटकको च्याम्पियन हो । नेपाल यही पटकदेखि मात्र यो च्याम्पियनसिपमा सहभागी भएको टोली हो । नेपालले पहिलो हाफमा जोर्डनलाई निक्कै डोमिनेशन गरेको थियो । तर दोस्रा हाफदेखि जोर्डनले दबाब बढायो । रेफ्रीले गरेको संकेतमा नेपाली टोली झक्किदा जोर्डनले फाइदा उठाएको थियो ।

नेपाल ११ औं पटक फाइनलमा पनि उपाधि जित्न सफल भएन । यसअघि साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा पटक पटक चुक्दै आएको नेपालले यसपटक पनि उपाधि जित्न सफल भएन । आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामै उपविजेता बनेको हो । पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो । तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो । त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

टाइब्रेकरमा जोर्डनकी आय अल मजालीले गोल गरेपछि नेपालका लागि गीता रानाले पनि स्कोर बराबरीमा ल्याइन् । त्यसपछि जोर्डनकी कप्तान मायसा बराहले गोल गर्दा दिपा शाहीले टप कर्नरमा पेनाल्टी पुर्याइन् । त्यसपछि जोर्डनले लगातार दुई प्रहार गोलमा परिणत गर्दा नेपालको हिरा भुजेलको प्रहार गोल भएपनि अमृता जैशीले गोल गर्न सकिनन् । जोर्डनको पाँचौ प्रहार गोल भएसँगै नेपाल पराजित हुन पुग्यो ।

चौथो मिनेटमा जोर्डनकी कप्तान माएसा जबाराहको प्रहार पोस्टको दिशामा रहेन । सातौं मिनेटमा गिता रानाको लामो फ्रिकिक जोर्डन गोलरक्षक शेरिन अल शलाबेले समात्न नसकेपनि खतरा भने रहेन । ११औं मिनेटमा सविता राना मगरको क्रसमा अमिषा कार्की नियन्त्रणमा लिनुअघि चिप्लिन पुगिन् । १५औं मिनेटमा रश्मी घिसिङको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । १७औं मिनेटमा दीपा शाहीको फ्रिकिक पनि सिधै अल शलाबेको हातमा पुग्यो । अर्को मिनेटमा प्रिती राईको प्रहारमा पनि उनी बाधक बनिन् ।

२९औं मिनेटमा आज पहिलो पटक सुरुवाती ११ मा रहेर खेलिरहेकी सविता राना मगरले नेपाललाई अग्रता दिलाइन् । रेखा पौडेलको पास जोर्डनले क्लियर गर्न नसकेपछि सविताले बक्सको छेउबाट गरेको प्रहार अल शलाबेको पहुंच भन्दा टाढा जाँदै पोस्टको दिशा लियो । ६०औं मिनेटमा कर्नरकिकको अन्त्यमा दीपा शाहीको प्रहार सिधै अल शलाबेको हातमा पुग्यो । ६४औं मिनेटमा जाइना हसनले बक्स बाहिरबाट निकै माथि प्रहार गरिन् ।

७२औं मिनेटमा अनिता बस्नेत अग्रता दोब्बर बनाउनबाट निकै नजित पुगेर चुकिन् । रेखा पौडेलको पास बक्सको दायाँ भागमा नियन्त्रणमा लिएर उनले गरेको प्रहार फार पोस्टको थोरै टाढाबाट बाहिरियो । ७४औं मिनेटमा जोर्डनले खेलमा बराबरी गर्यो । ग्राउन्डको मध्य भागबाट खेलेको लामो पासमा अफसाइड ट्रयाप बिट गर्दै लाना फेरासले गोल गरेर खेल बराबरीमा ल्याइन् । सो गोल भएको बेला प्रिती राई चोटका कारण मैदान बाहिर रहेकाले नेपाल दश जनाले खेलिरहेको थियो ।

त्यसको अर्को मिनेटमा जोर्डन अग्रता लिनबाट चुक्यो । साराह अबु साबाहको बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्कियो । रिबाउन्डमा माएसा जबाहराले बललाई पोस्टमा पठाएपनि उनी अफसाइड भएपछि गोल मान्य भएन । ८३औं मिनेटमा अयाह अल-मजालीको लामो फ्रिकिक एन्जिलाले समातिन् । ८७औं मिनेटमा जबाहराको हेडर पोस्टको दिशामा रहेन । ८९औं मिनेटमा जोर्डनले खेलमा दोस्रो गोल गर्यो । साराह अबु साबाहले जबाराहको पास लिएर गिता र दीपालाई छक्याउँदै बक्स भित्रबाट गोल गर्दै जोर्डनलाई अग्रता दिलाइन् ।

९०औं मिनेटमा जोर्डनकी गोलरक्षकले बल फुस्काएपछि बक्सको छेउबाट अनिता बस्नेतले गरेको प्रहारमा उनको चाहेजस्तो सम्पर्क रहन सकेन । इन्ज्युरी समयको दोस्रो मिनेटमा नेपालले पेनाल्टी पायो । जबाराहले बक्समा ह्याण्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । पेनाल्टीमा गिता रानाले गोल गर्दै नेपालका लागि बराबरी गरिन् ।

 

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस