२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले सरकारको ध्यानाकर्षण गर्ने

१० फागुन, काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ । एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर सरकारको ध्यानाकर्षण गर्न लागेको हो । यसअघि नै एमालेले मन्त्री ज्वालाको राजीनामा मागिसकेको छ ।

माघ ६ गते बसेको बैठकमा एमालेका सचेतक बर्तौलाले ललितपुरको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री ज्वालाको समेत कमजोरी रहेको प्रतिवेदन छानबिन समितिले दिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका थिए । जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिवेदन बुझ्न बाँकी रहेको र प्रतिवेदन बुझेपछि आवश्यक निर्णय लिने बताएका थिए । तर, अझैसम्म सरकारी छानबिन समितिले दोषी देखाएका व्यक्ति कारबाहीमा नपरेको भन्दै एमालेले पुनः सरकारको ध्यानाकर्षण गर्न लागेको हो ।

प्रतिनिधि सभाको बैठक शुरु भएलगत्तै समय लिएर बोल्ने एमालेको तयारी छ । एमालेको तर्फबाट सांसद रघुजी पन्तले सरकारको ध्यानाकर्षण गर्नेछन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागीमा प्रकाश ज्वाला ललितपुरको बालकुमारी घटनापछि निकै विवादित बने ।

गत पुस १३ गते दक्षिण कोरियाको इपीएस परीक्षामा भाग लिन पाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरुले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले मन्त्रीको गाडीमा आगो लगाइदिएपछि प्रहरीले गोली चलाउँदा दुई युवा (दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाह)को मृृत्यु भएको थियो । यो घटनापछि सरकारले उच्च अदालतका पूर्व न्यायाधीश शेखर पौडेलको नेतृत्वमा तीन सदस्यीय छानबिन आयोग गठन गरेको थियो । पूर्वडीआईजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई आयोगका सदस्य थिए । आयोगले एक महिनाभन्दा बढी समयपछि तयार पारेको प्रतिवेदनमा मन्त्री ज्वालासमेत दोषी रहेको देखाइएको छ ।

प्रदर्शनीस्थलमा मन्त्री ज्वाला सवार झण्डावाल गाडी पुगेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छानबिन समितिको निष्कर्ष रहेको बताइन्छ । आयोगको प्रतिवदेनपछि एमालेले मन्त्री ज्वालाको राजीनामा माग्दै आएको छ । नैतिकताका आधारमा मन्त्री ज्वालाले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने पनि उनीहरुको माग छ । माघ ६ गतेको प्रतिनिधिसभामा आकस्मिक समय लिएर एमाले सचेतक बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेका थिए ।

 

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस