२०८१ मङ्सिर १ गते शनिवार | 2024 November 16th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दुईवटा न्यारोबडी जहाज लिजमा ल्याइँदै, व्यवस्थापनको कमजोरीले निगमको ऋण ५० अर्ब नाघ्यो

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज लिजमा लिन आज टेन्डर आह्वान गरेको छ । दैनिक सात घण्टा उडान गर्ने गरी वेट लिजमा लिन निगमले आज ग्लोबल टेन्डर गरेको हो । निगमले मुलुकको पर्यटन प्रवर्द्धनमा बलियो उपस्थिति जनाउने उद्देश्यले जहाज भाडामा लिन लागेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बिमासमेत आफैंले बेहोर्ने र निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुईवटा न्यारोबडी जहाज भाडामा लिन लागिएको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाइ विदेशी पर्यटकहरुलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोबडी जहाज वेट लिज विमान, चालक दल, मर्मतसम्भार, बिमासमेत उक्त कम्पनीले लिने प्रक्रिया पारदर्शी ढंगले गर्न तालुक मन्त्रालयको सहमति लिई सार्वजनिक खरिद ऐन, नियमबमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ,’ उनले भने ।

उनले निगमको कार्ययोजनाअनुरुप हाल निगमसँग भएको दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य क्षेत्रमा हाल भएका दुई न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकाले जहाज थप गर्न लागेको उल्लेख गरे । उनले थप भएका दुई जहाजले अहिले रहेको उडान चापलाई व्यवस्थापन गर्नेगरी दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान थप गरी आय बढाउने योजना रहेको दाबी पनि गरे । जहाज भाडामा लिएपछि भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना निगमको रहेको प्रवक्ता पौडेलको दाबी छ । उनले नेपाल सरकारवाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव र निगमको दशवर्षे व्यावसायिक योजनाअनुरुप बजार विस्तार गर्न जहाज थप्न लागेको जिकिर गरे । जहाजहरु आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको उल्लेख गर्दै उनले निगमसँग भएका जहाज ग्राउन्डेड गरेर जहाज भाडामा लिन नलागेको भन्दै निगमसँग भएका सबै जहाजले उडान गरिरहेको दाबी गरे ।

‘विगतमा विभिन्न काण्डहरु थिए भनेर निगम तर्सेर बस्ने अवस्था होइन । समय परिस्थिति परिवर्तन भइसकेको छ । समयसँगै चल्नुपर्छ । व्यवसायी पुरानो समय यस्तो थियो भनेर बस्ने होइन । व्यवसायीको सिद्धान्त भनेको लगानी र स्रोत साधन थपेर अगाडि बढ्नुपर्छ भन्ने हो । निगम त्यही बाटोमा लागेको छ,’ प्रवक्ता पौडेलले भने । उनले राष्ट्रिय ध्वाजवाहक जहाज भन्ने तर चारवटा जहाज राखेर चार सय जहाज भएको मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको भन्दै अन्य देशसँग प्रतिष्पर्धाको लागि जहाज आवश्यक परेको बताए । निगमले साधन स्रोत ल्याएर सम्भाव्य बजारलाई बढाएर आम्दानी गर्ने, आम्दानी पनि बढाउने र जहाजको भाडा पनि तिर्नेगरी योजना अगाडि बढेको उनको भनाइ छ ।

तर, निगमको व्यवस्थापन कमजोर हुँदा दुईवटा न्यारोबडी र २ वटा वाइडबडी खरिद गर्न लिएको ३४ अर्ब ऋण अहिले ५० अर्बभन्दा माथि पुगिसकेको छ । लिजमा लिएका जहाज पनि चलाउन नसके निगमलाई थप आर्थिक भार पर्न जानेछ । भएकै जहाजले उडानका लागि गन्तव्य नपाइरहेको अवस्थामा जहाज ल्याएर निगमलाई थप ऋणमा डुबाउने खेल भएको भन्दै आलोचनासमेत भइरहेको छ ।

 

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस