२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देखिन छाडे सुगा र मैना

ढल्केबर, माघ २१ गते । धनुषालगायत तराईका जिल्लामा कुनै समय खेतबारीको अन्नबाली खाएर किसानलाई हैरान बनाउने तथा घरआँगनमै आइपुग्ने सुगा र मैना हिजोआज देखिन छाडेका छन् । तराईका घरआँगन र खेतबारीमा सहजै देखिने यी पन्छी आहार र सुरक्षित बासस्थानको अभावका कारण तराईका दक्षिणी भूभागबाट विस्थापित भइरहेकाले देखिन छाडेको हो । यी दुवै प्रकारका पन्छीलाई सानैदेखि पालेर बोल्न सिकाएमा केही शब्द नक्कल गरी मानिस झैँ बोली निकाल्न सक्छन् । सुगा प्रजाति अनुसार विभिन्न रङका हुन्छन् तर नेपालमा पाइने सुगा प्रायः हरियो रङको हुन्छ । सुगा प्रायः ठुलो समूहमा रहन्छन् । त्यस्तै मैनाको चुच्चो र खुट्टा पहेँलो तथा शरीरको भाग कालो रङको हुन्छ । नेपालका केही स्थानमा मैनालाई रुपी र केही स्थानमा डाङ्ग्रे भनेर पनि चिनिन्छ ।

धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले केही वर्षअघिसम्म मकैलगायतका अन्नबाली खाएर दुःख दिने सुगा हिजोआज देखिन छाडेको बताए । “किसानले लगाएको मकै सुगाको बथानले खाएर सखाप बनाउँथे । सुगा धपाउनकै लागि एक जनाले दिनभर खेतमा पहरा दिनुपर्दथ्यो । उनले भने, “जताततै देखिने सुगा र मैना कता हराए हराए ।” चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले सुगा र मैना तराईबाट पूर्ण रूपमा लोप नभए पनि पहिलाको तुलनामा निकै कम देखिने गरिएको बताए  । प्राकृतिक रूपमा भेटिने आहार र बासस्थान मासिँदै गएपछि यी पन्छी चुरे क्षेत्रतर्फ बसाइँ सर्दै गएको उनले जानकारी दिए ।

अध्यक्ष मण्डल भने, “वरपिपल, शमी, पाखर, जामुनजस्ता रुख चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिक रूपमा आहार उपलब्ध हुने रुख हुन् । विकासका व्रmममा बन्ने बाटोघाटो र पक्की घर निर्माणका कारण ती प्रजातिका रुख मासिँदै गएकाले सुगा, मैनालगायत थुप्रै प्रजातिका चराचुरुङ्गी तराईबाट हराउँदै गएका छन् ।” उनले जलवायु परिवर्तन पनि एक कारण भएको बताए । जलवायु परिवर्तनका कारण तापव्रmम वृद्धि, सिमसार तथा नदीनालामा पानी सुकेकाले थुप्रै प्रजातिका चराचुरुङ्गी तराईबाट लोप भइरहेको उनको भनाइ छ । नेपालमा हाल चोरी सिकार तथा विभिन्न कारणले गर्दा ५७ प्रतिशत चरा कम भएको र २२ प्रजातिका चरा लोप भइसकेको अध्यक्ष मण्डलले बताए ।

यस्तै पर्यावरण संरक्षण अभियन्ता तथा मधेश प्रदेश वन निर्देशनालयका वन अधिकृत सुरेश शर्माले रुखबिरुवा मासिँदै जानु, बढ्दो ध्वनि, धुवाँ र माटो प्रदूषणका कारण सुगा, मैनालगायतका चराचुरुङ्गी लोप हुने अवस्थामा पुगेको बताए । उनले चराचुरुङ्गीका लागि सुरक्षित बासस्थान र प्राकृतिक रूपमा आहार उपलब्ध हुने उद्देश्यले तीन वर्षको अवधि पाँच हजारभन्दा बढी वरपिपल, शमी र पाखरका बिरुवा रोपेको जानकारी दिए  । सो बिरुवा हुर्केपछि चराचुरुङ्गीको बासस्थान, आहार र पर्यावरण स्वच्छतामा सहयोग उनको भनाइ छ ।

यसै गरी अर्का पर्यावरण अभियन्ता तथा मधेश प्रदेशका सभा सदस्य रामअशिष यादवले खेतबारीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले चराचुरुङ्गीको जीवन सङ्कटमा पर्दै गएको बताए । त्यसलगायत गाउँ सहर भएर बग्ने नदीमा उद्योगबाट निस्कने रसायन मिसाइएको पानी र ढलको पानी पिउनाले सुगा मैना मर्ने तथा यहाँबाट पलायन भएको उनले जानकारी दिए  ।

प्रकाशित मिति : २०८० माघ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस