२०८१ असोज ५ गते शनिवार | 2024 September 21st Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आर्मीले पहिलो पटक जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

Army won the Aha Rara Pokhara Gold Cup title for the first time

२० माघ, पोखरा । ५ पटकको विजेता थ्रीस्टार क्लबलाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले २३ औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको छ । आर्मीले थ्रीस्टारलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारका जीवन गुरुङले पेनाल्टी बक्सभित्र पुगेको बल क्लियर गर्ने क्रममा बाहिरिएसँगै मुख्य रेफ्री प्रज्वल क्षेत्रीले आर्मीलाई कर्नरको संकेत गरे । उक्त कर्नर सिद्धान्त चौधरीले प्रहार गर्दै अनमार्क रहेका कप्तान जिलेप्सीजंग कार्कीलाई दिए । जिलेप्सीले हेड गर्दै बललाई जाली चुमाए, जसलाई विपक्षी गोलरक्षक अभिषेक बरालले रोक्ने कुनै अवसर पाएनन् । खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

आर्मी त्यतिमै रोकिएन । खेलको ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गर्दै टिमको जित सुनिश्चित पारे । उनले इन्जुरी टाइमको अन्तिम समयमा गोलरक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।

आर्मीले लियो ५ वर्षअघिको हारको बद्ला

आहा रारा गोल्ड कपमा आर्मी र थ्रीस्टारबीच यसअघि २०७५ सालको फाइनलमा भेट भएको थियो । आहारारामा यसअघि अन्तिमपटक दुवै टिम २०७५ सालमा सँगै भिडेका थिए । उक्त खेलमा आर्मीलाई ट्राइब्रकेरमा ५–४ ले स्तब्ध पार्दै थ्रीस्टारले उपाधि चुमेको थियो । त्यतिबेला निर्धारित खेल २–२ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यसअघि ४ पटक फाइनलमा पुगेर पनि त्रिभुवन आर्मी उपाधिविहीन थियो भने थ्रीस्टारले ६ पटक सहभागी हुँदा ५ पटक उपाधि जितिसकेको छ । आर्मीले आफ्नो हारको श्रृंखला अन्त्य गर्दै १५ औं सहभागितामा पहिलो पटक उपाधि जितेको छ ।

 

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस