२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा आज यस वर्षकै बढी जाडो, के माइनसमा पुग्दैछ ?

१४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा आज यो हिउँद अवधिमा अहिलेसम्मकै बढी जाडो महसुस भएको छ । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम २.२ डिग्री सेल्सियस मापन भएको छ । ‘आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २.२ रेकर्ड भएको छ । यो वर्षमा यो अहिलेसम्मकै कम रेकर्ड हो,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद गोविन्द झाले भने ।

गत बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो । तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ । तराई मधेशका अधिकांश जिल्लामा भने बाक्लो हुस्सु कुहिरो लागेको छ । पूर्वको तुलनामा पश्चिम तराईमा बाक्लो हुस्सु छ । ‘धनगढी, नेपालगञ्ज, भैरहवा तिर बाक्लो हुस्सु छ, भद्रपुरतिर भने तुलनात्मक रुपमा अलि कम छ,’ मौसमविद झाले भने । पश्चिम तराईका जिल्लामा पारदर्शिता ५० देखि १०० मिटरसम्म रहेको उनले बताए ।

यस्तो अवस्था अझै एक–दुई दिन कायम रहने सम्भावना रहेको मौसमविद झाले बताए । बाक्लो हुस्सुसँगै जाडो बढेकाले तराई मधेशका जिल्लाको जनजीवन प्रभावित भएको छ । तर शीतलहरको घोषणा भने जल मौसम विज्ञान विभागले गरिसकेको छैन । ‘शीतलहर घोषणा गर्नका लागि निश्चित प्यारामिटर मिट गर्नुपर्छ, त्यो अझै मिट भएको देखिएको छैन, हामी त्यसलाई नजिकबाट नियालीरहेका छौं,’ मौसमविद झाले भने ।
अझै केही दिन पानी परेन भने तापक्रम माइनसमा झर्न सक्छ । काठमाडौंमा तापक्रम माइनसमा नपुगेको धेरै बर्ष भइसकेको छ ।

 

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस