२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१२ः४५ मा देखियो अयोध्यामा रामको अनुहार : नेपालका दुर्गाले गराए मोदीलाई पहिलो पूजा

Rama's face seen in Ayodhya at 1245

काठमाडौं । भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा भएको छ । दिउँसो १२ः२० बजेदेखि सुरु भएको भव्य अनुष्ठान १२ः४५ को शुभमुहुर्तमा भगवान रामको पहिलो अनुहार संसारभर लोकार्पण गरियो । प्रधानमन्त्री नरेन्द्र मोदीसहितका व्यक्तित्वले विशेष अनुष्ठा गरे ।

प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गरेका छन् । मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ । राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन् । अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेष रुपमा सजाइएको छ । प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको छ ।

नवभारत टाइम्सका अनुसार नेपालका पुजारी आचार्य दुर्गा प्रसाद गौतमले विशेष धार्मिक समारोहको नेतृत्व गरेका छन् । राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका महासचिव चम्पत रायले गौतमलाई पठाएको पत्र अनुसार उनले प्रधानमन्त्री मोदीसहित हजारौं हिन्दु भक्तहरुको सामु वैदिक मन्त्रोच्चारण गरे । आचार्य दुर्गा प्रसाद गौतम झापाको मेचीनगर निवासी हुन् । अयोध्याको राम मन्दिरको शिलान्यास गर्ने बेलामा पनि उनैले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पूजा गराएका थिए ।

दुर्गा प्रसाद गौतम झापाको मेचीनगर निवासी हुन् । उनलाई प्राण प्रतिष्ठामा सहभागी हुन श्रीराम तीर्थ निर्माण ट्रस्टले निम्तो दिएको थियो । सन् २०२० को अगस्ट ५ मा मन्दिरको शिलान्यास गर्ने बेलामा पनि उनैले पूजा गराएका थिए । त्यतिबेला देखि नै उनी अयोध्याको राम मन्दिरसँग जोडिँदै आएको नवभारत टाइम्सले लेखेको छ । अयोध्यामा जनकपुरको जानकी मन्दिरका महन्त रामतपेश्वर दास, उनका उत्तराधिकारी राम रोशन दास र पशुपति मन्दिरका पुजारी गणेश भट्ट लगायतपनि निम्तो पाएपछि पुगेका छन् ।

नेपालमा पनि उल्लास

सिंगारिएको मधेशको एक राम मन्दिर ।
अयोध्यामा प्राण प्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सार्वजनिक विदा दिएका छन् । कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन् । सप्तरीको राजविराज नगरपालिकाले पनि सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैगरी रौतहटका विभिन्न पालिकाका राम मन्दिरहरुमा पूजापाठ, सरसफाइ तथा माछामासु र मदिरा बिक्री वितरण बन्द गरिएको छ । जनकपुरस्थित जानकी मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ । त्यहाँ आज सवा लाख दीप प्रज्ज्वलन गरिँदै छ । रामको ससुराली भनेर चिनिने जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपालका पवित्र जलासयबाट संकलन गरिएको जल र उपहारहरु अयोध्या पठाइएको थियो ।

रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्राम समेत अयोध्या लगिएको थियो । तर त्यसको प्रयोग नगरी मन्दिर परिसरमै राखिएको छ ।

 

प्रकाशित मिति : २०८० माघ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस