२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छात्रवृत्तिमा पढाई करारको जागिर, एक महिना तयारी, वर्षमा लोकसेवाका पाँच परीक्षा पास

काठमाडौं । लोकसेवा उत्तीर्ण गर्नुलाई धेरैले फलामका चिउरा चपाएसरह मान्छन । तर गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेर सो भास्यलाई परिवर्तन गर्न सफल भएकी छिन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी मनिषाले एक वर्षभन्दा छोटो समयमा पाँच परीक्षा उत्तीर्ण गरेकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छिन् ।

उनी भन्छिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ ।’ परिश्रमले नै सफलता मिलेको उनको भनाई छ । एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण गरेको उनले स्मरण गराइन् । स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्ने भन्दै उनले भनिन्, ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ ।’

जिसीले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी थिइन् । त्यसपछि करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् । उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययन गरिरहेकी छिन् ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस