२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

श्रीमती र पाँच महिनाका छोरा नेपालगञ्जमा छोडेर विदेश जान काठमाडौं हिँडेका थिए दीपक राप्तीमा अस्ताए

Deepak sat in Rapti

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–६ होली गाउँका दीपक कामीले विवाह गरेको दुई बर्ष मात्र भएको थियो। ६ महिनाअघि उनका छोरा जन्मिएका थिए। हुर्किंदै गरेका छोराको भविष्यका लागि उनी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए।

म्यानपावर कम्पनीले भिसा आईसकेको र चाँडै मेडिकल गर्न बोलाएपछि उनी शुक्रबार राति नेपालगञ्जबाट रात्री बस चढेर काठमाडौं हिँडेका थिए। उनी चढेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ती गाउँपालिक पुगेपछि दुर्घटना भयो। पुलबाट राप्ती नदीमा खसेको बसमा सवार २५ बर्षीय दीपक कामीसँगै १२ जनाको मृत्यु भएको छ। केही मृतकको पहिचान खुल्न बाँकी छ।

घरमा सानो बच्चा भएकाले भिसा आएपनि तत्काल दीपक विदेश जान चाहेका थिएनन्। म्यानपावरले भिसा आईसकेको बताएपछि उनी पछि दोहोरो ऋण थपिने डरले काठमाडौं पुग्न बाध्य थिए। ‘वैदेशिक रोजगारीमा जानका लागि उनी काठमाडौं जान लागेका थिए, म्यानपावर कम्पनीले मेडिकल छुट्छ, छिटो आईहाल्नुस् भनेर बारम्बार बोलाईरहेको रहेछ,’ दीपकका भिनाजु आठविसकोट–६ का पूर्ववडाध्यक्ष उत्तम कलेलले भने, ‘उसले सानै बच्चा भएकाले तत्काल जाने मन पनि गरेको थिएन, भिसा आईसकेपछि बाध्य भएर मेडिकल गर्ने र जानुपरिहाले त्यतैबाट विदेश गईहाल्ने भनेर काठमाडौं लागेका थिए।’

दीपकले पाँच महिनाको छोरा र श्रीमतिलाई नेपालगञ्जमा छोडेर काठमाडौं हिँडेका थिए। उनका भिनाजु उत्तमको घर नेपालगञ्जमा छ। श्रीमती र छोरालाई त्यही घरमा दीपकले राखेका थिए। दीपककी दिदी भारतमा बस्छिन्। उनको परिवारमा अहिले उनकी दिदी मात्र छन्।

‘एजेन्टले छिटो आउनु भनेको र भिसा आईसकेको कुरा मलाई भनेकै थिएनन्, भिसा लगाएको पनि थाहा दिएनन्,’ पूर्ववडाध्यक्ष कलेलले भने, ‘भिसा लगाएर उनी ससुराली गएका थिए, त्यहाँबाट फर्किएर उनीहरु नेपालगञ्ज गएका रहेछन्। दीपकको ससुराली रुकुम पश्चिमकै बाँफिकोट गाउँपालिका–६ खारखारा भन्ने गाउँमा हो। दीपकको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि उनकी दिदी पनि रुकुम आउँदैछिन्।’

 

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस