काठमाडौं । रुस–युक्रेनबिचको युद्धमा रुसी फौजमा भर्ना भएका नेपालीको ज्यान गएको खबर आइरहेको छ । यसबीच सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमाथि रोक लगाइएको छ । वैदेशिक रोजगार विभागले रुस–युक्रेनबिच युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन रोक लगाएको जानकारी दिएको हो । विभागले सूचना सार्वजनिक गरेर यी देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ ।
जानकारी अनुसार रुसी फौजमा भर्ना भएका १० जना नेपालीको ज्यान गएको पुष्टि भइसकेको छ । ती देशमा एक सय नेपाली नागरिक सम्पर्कविहीन रहेका परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी गराएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रुसमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर ३८६ जना नेपाली त्यहाँ पुगेको देखिन्छ । पछिल्लो वर्ष युक्रेनमा भने संस्थागत रूपमा श्रम स्वीकृति लिएर जानेको सङ्ख्या देखिँदैन ।