२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापान भूकम्प : १३ जनाको मृत्यु, प्रधानमन्त्री भन्छन्–जहाजमार्फत राहत पठाउँदैछौँ

Noto quake

काठमाडौं । मध्य जापानको नोटो प्रायद्वीप र वरपरका क्षेत्रहरूमा गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ । ७.६ म्याग्निच्युडको भूकम्पले इशिकावा प्रिफेक्चरको वाजिमा सहरमा व्यापक संरचनात्मक क्षति पुर्याउनुका साथै आगलागीका घटना पनि भएका छन् । केही क्षेत्रमा निरन्तर पराकम्प गइरहेको जापानका स्थानीय सञ्चारमाध्यले जानकारी दिएका छन् । सडकमा देखिएको भग्नावशेषले उद्धार कार्यमा बाधा पुर्याएको छ । अधिकारीहरुका अनुसार मृत्यु हुनेमा वाजिमा नगर अस्पतालमा उपचाररत सात जना छन् ।

मंगलबार बिहान पनि वाजिमाको मध्य क्षेत्रमा भवन ढलेर आगो बलिरहेको देख्न सकिन्छ । आगोबाट २०० भन्दा बढी संरचनामा क्षति पुगेको छ । प्रधानमन्त्री फुमियो किशिदाले पत्रकार सम्मेलनमा भने, ‘नोटो प्रायद्वीपको उत्तरी क्षेत्रहरूमा सवारी साधनहरू प्रवेश गर्न अत्यन्तै गाह्रो छ । केन्द्र सरकारले जहाजहरू प्रयोग गरेर राहत सामग्रीको ढुवानीमा समन्वय गरिरहेको छ ।’ किशिदाका अनुसार करिब १,००० आत्मरक्षा बलका जवानहरू उद्धार र राहत कार्यमा खटिएका छन् ।

प्रकाशित मिति : २०८० पुष १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस