किएभ । युक्रेनको हमलामा रुसी प्रान्तीय राजधानी बेल्गोरोडमा कम्तिमा २० जनाको मृत्यु भएको छ । एक सयभन्दा धेरै घाइते भएका छन् । युक्रेनले सर्वसाधारणको बाहुल्यता रहेको सहरी क्षेत्रमा आक्रमण गरेको प्रान्त प्रमुख भ्याचेस्लाभ ग्लादकोभले बताएका छन् । उनले बेल्गोरोडका बासिन्दालाई सुरक्षित क्षेत्रमा जान आग्रहसमेत गरेका छन् ।
युक्रेनको यो हमलालाई रुसी आक्रमणपछिको सबैभन्दा ठूलो मानिएको छ । युक्रेनले भने हमला रुसी सैन्य संरचनामा गरिएको दाबी गरेको छ । उत्तरी युक्रेनसँग सीमा जोडिने बेल्गोरोडले यो वर्षभरि नै युक्रेनको हमला खेप्नु परेको छ ।
यसअघि शुक्रबारको रुसी कारबाहीमा ३९ जनाको मृत्यु भएको थियो । अन्तर्रास्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनले ७० भन्दा बढी ड्रोन प्रयोग गरेको थियो ।