२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय नागरिकद्वारा नेपालको सरकारी भवन कब्जा

Occupation of Nepalese government building by Indian citizens

खजुरा, पुस १० गते । बाँके जिल्लास्थित एक सरकारी कार्यालयको भवन एक भारतीय नागरिकले बर्षौं अघिदेखि कब्जा गरी अनाधिकृत रुपमा प्रयोग गर्दैआएको पाइएको छ । पशु क्वारेन्टाइन कार्यालय बाँकेको स्वामित्वमा रहेको नेपालगन्ज उपमहानगरपालिका वडा १५ पिप्रहवास्थित होल्डिङ्ग यार्डभित्र रहेको एकतले पक्की भवन बर्षौं अघिदेखि एक भारतीय नागरिकले कब्जामा लिइ अनाधिकृत रुपमा उपयोग गरिरहेको पाइएको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले बताए ।

प्रजिअ पोखरेलका अनुसार भारतीय नागरिकले बर्षौं अघिदेखि अबैधरुपमा कब्जा गरेको सो सरकारी भवन खाली गराउन बाँके प्रशासनले कारबाही प्रक्रिया सुरु गरेको छ । परिवारसहित बसोबास गर्दैआएको भारतीय नागरिकलाई सो सरकारी भवन खाली गराइदिनका लागि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लागू हुनेगरी ७ दिने सूचना जारी गरी टाँस गरिएको प्रजिअ पोखरेलले जानकारी दिए । ‘भारतीय नागरिकले कब्जा गरेको सो भवन खाली गराइदिन भनेर ७ दिने सूचना टाँस गरेको छौं’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढाइसक्यौं, कानूनअनुसार जसरी पनि सो भवन खाली गराउँछौ, नागरिकलाई प्रशासन छ भन्ने महशुस गराउँछौं ।’

जिल्ला प्रशासन कार्यालयलाई भारतीय नागरिकले सो भवन कब्जा गरेको विषय अहिले मात्र जानकारी भएको भने होइन् । करिब दुई बर्षअघि नै पशु क्वारेन्टाइन कार्यालयले भारतीय नागरिकले अनाधिकृत रुपमा भवन कब्जा गरेको र कारबाही गरी कब्जा गरेको भवन खाली गराइदिन भनेर जिल्ला प्रशासन कार्यालयमा लिखित अनुरोध समेत गरेको थियो ।

तर, तत्कालीन प्रशासकले यो बिषयमा ध्यान नदिँदा हालसम्म सो भवनमा भारतीय नागरिकको परिवारले हालीमुहाली गर्दैआएका छन् । ‘२०७८ फागुन २६ गते पशु क्वारेन्ट कार्यालयले कार्यालयको भवनमा अवैधरुपमा बस्दैआएको भारतीय नागरिकको परिवारलाई हटाउने कार्यमा सहयोग गरिदिन भनेर बाँके प्रशासनमा लिखित अनुरोध गरेको पाइयो’ प्रजिअ पोखरेलले भने ।

 

प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस