रोल्पा । सेतै फुलेको कपाल । चाउरिए पनि चम्किलो अनुहार । बुढ्यौलीमा पनि वजनदार आवाज । सधैं मगर समुदायको जातीय पहिरन, गुन्यू–चोली र घलेक पहिरिएर हिँड्ने रोल्पा कोर्चाबाङकी ७२ वर्षीया बमकुमारी बुढामगरलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याई छ । ‘उमेरले पढाइलाई छेक्दैन’ भन्दै निरन्तर पढेर समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी त्रिभवुन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोहबाट दीक्षित भएपछि उनलाई बधाईको ओइरो लागेको हो ।
बमकुमारीसँग बधाई थापेका धेरै अनुभव छन् । २०३० सालमा रोल्पा जिल्लाबाटै एसएलसी उत्तीर्ण गर्ने पहिलो महिला बन्दा पनि उनले यसैगरी बधाई थापेकी थिइन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य बन्दा पनि बधाई पाएकी थिइन् । २०५१ मा स्नातक पास गर्दा पनि उनको हर्षको सीमा थिएन । तर उमेरको उत्तरार्द्धमा उनले पाएको सफलताले भने बेग्लै खुसी दिएको छ । भन्छिन्, ‘पढाइलाई उमेरले छेक्दैन भन्ने लागेर मैले अध्ययन र अनुसन्धानलाई निरन्तता दिएकी हुँ । दीक्षित भएपछि बधाई दिनेहरू धेरै देख्दा खुसी छु ।’
समाज अध्ययन, संस्कृति संरक्षण र लेखनमा अनवरत लागिरहेकी बमकुमारीले उमेर र जाँगरका कारण कुनै पनि विषय बुझ्न र अध्ययन गर्न अल्छी नलागेको अनुभव सुनाइन् । स्थानीय रैथाने भाषा–संस्कृतिदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयको अध्ययनमा रुचि राख्ने उनले भनिन्, ‘मेरो काम अध्ययन र अनुसन्धानमा केन्द्रित छ, सधैं त्यसमै समय लगाएकी छु ।’
राष्ट्रिय पञ्चायत सदस्य भए पनि बहुदलपछि उनी राजनीतिमा सक्रिय भइनन् । धेरैले ‘बुढेसकालमा पढेर के काम ?’ भनेर उनलाई निरुत्साहित बनाउन पनि नखोजेका होइनन्, तर उनको मिहिनेत र उत्साहमा कहिल्यै कमी आएन । बमकुमारीका माइला दाजु चन्द्रप्रसादकी छोरी टीकाले फुपू दीक्षित भएको खबरले सबैलाई खुसी दिएको बताइन् । भन्छिन्, ‘कान्छी फुपू दीक्षित भएको खबरपछि हामीलाई पनि आफन्त र शुभचिन्तकले बधाई दिने गरेका छन् । परिवार र गाउँमा खुसियाली छाएको छ ।’
बमकुमारीका साथी पूर्वसांसद लेखनाथ आचार्यले उनी तत्कालीन राप्ती क्षेत्रकै प्रभावशाली महिला भएको स्मरण गराए । उनको सक्रियताले अन्य धेरै महिलालाई प्रेरित गरेको आचार्यले बताए । रोल्पा जिविसका पूर्वउपसभापति पूर्णबहादुर वलीले बमकुमारी एक हिम्मतिली महिला भएको बताए । मगर खाम मात्रै बोल्ने कालाशेष क्षेत्र कोर्चाबाङमा जन्मेकी बमकुमारी स्कुलसम्म पुग्ने उनको समुदायका निकै थोरै महिलामध्येकी एक थिइन् । महिलाले पढ्न चलन नभएको त्यतिबेला झनै पिछडिएको मगर समुदायबाट महिला विद्यालय जानु भनेको कल्पनाबाहिरको सोच थियो । तर गाउँको दुःख झेल्दै बमकुमारीले पढाइलाई निरन्तरता दिइन् । जिल्लामा कक्षा १० सम्म पढाइ हुने विद्यालय नभएको त्यतिबेला उनले दाङको तत्कालीन पद्मोदय पब्लिक बहुद्देश्यीय माविबाट २०३० सालमा एसएलसी उत्तीर्ण गरेकी थिइन् ।
एसएलसी उत्तीर्णपछि उनले रोल्पाका तालाबाङ र बुढागाउँलगायतका विद्यालयमा २ वर्ष पढाइन् । त्यसपछि उनी सदरमुकाम लिबाङमा रहेको बाल कल्याण विद्यालयमा शिक्षिका भएर आइन् । त्यतिबेला उक्त स्कुलमा कृष्णबहादुर महरा (पूर्वउपप्रधानमन्त्री र पूर्वसभामुख) पहिलेदेखि नै शिक्षक थिए । पञ्चायत व्यवस्थाको समर्थक रहेकी बमकुमारी कम्युनिस्ट समर्थक महरालगायत अन्य शिक्षकसँग राजनीतिक बहस र छलफलमा भाग लिन्थिन् ।
त्यही परिवेशले उनमा राजनीतिप्रति झुकाव बढ्दै गयो । पछि आईएड पढ्न नेपालगन्ज पुगिन् । २०३९ मा राष्ट्रिय पञ्चायत सदस्य भए पनि २०४३ मा भएको राष्ट्रिय पञ्चायतको चुनावमा पराजित भइन् । त्यतिबेला धाँधली भएकाले आफूले हारेको उनको दाबी छ । सामाजिक परिवर्तन, समाज अध्ययन र अनुसन्धानमा केन्द्रित बमकुमारीले विवाह भने गरिनन् । मगर मातृभाषाको औपचारिक पठनपाठनका लागि १ देखि ५ कक्षासम्मको र अनौपचारिक १ कक्षाका लागि पाठ्यपुस्तकसमेत तयार पारेकी उनी मगर समुदायका लागि काम गर्ने संस्था अथार मगरातकी अध्यक्षसमेत हुन् ।