२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जे मागे पनि पूरा गरिदिने : जोडी जुराइदिने दुप्चेश्वर महादेव

Dupcheshwor Mahadev, who fulfills whatever is asked, who makes couples

नुवाकोट । हाम्रो देशमा जोडी जुराइदिने लमीजस्तै महादेव पनि छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। यी महादेवको नाम पनि प्रसिद्ध छ। नुवाकोट जिल्लाको साबिकको राउतेवेसी गाविस हाल दुप्तेश्वर गाउँपालिकामा रहेको यो महादेवको नाम हो दुप्चेश्वर। विशेष गरेर जोडी जुराइदिने भएरै यहाँ धेरैको संख्यामा युवायुवती आएर पूजापाठ गर्ने र भाकल गर्ने पनि गर्छन्। विवाह नभएका युवायुवतीले आफूलाई योग्य, लायक र आकर्षक महिला वा पुरुष जुराइदेऊ भगवान् भनी माग्ने गर्छन्।

विवाह भइसकेकाले सन्तान प्राप्तिका लागि पनि यस दुप्चेश्वर महादेव स्थानमा आउने गर्छन्। जोडी पनि जुराइदिने अनि सन्तान नभएकालाई सन्तान दिने विश्वास धेरैले गर्छन्। भक्तजनको यो आकर्षणले गर्दा केही समय अघिदेखि नै यहाँ सांस्कृतिक र धार्मिक आस्था बढाएर त्यसको महत्वलाई पनि बढाइरहेको देखिन्छ। हरेक वर्ष पुसको धान्य पूर्णिमाका दिनदेखि सात दिनसम्म विशेष मेला लाग्दछ, यस दुप्चेश्वर महादेव स्थानमा। त्यसको अलावा यहाँ शिवरात्रिमा, साउन महिना र हरेक सोमबार मेला लाग्ने गर्दछ। यी दुप्तेश्वर महादेवले जसले जे मागे पनि पूरा गरिदिन्छन् भन्ने धार्मिक विश्वास छ।

त्यसैले यस महादेव स्थानमा हिन्दू र बौद्ध धर्मावलम्बीले अर्को अर्थात् दोस्रो पशुपतिनाथका रूपमा मान्दै आइरहेको पाइन्छ। विशेषतः निःसन्तान दम्पतीको इच्छा पूरा गरिदिने भएकाले पनि यहाँ भक्तजनले भाकल गर्ने र भाकल पूरा भएपछि पनि महादेवको दर्शन गर्न आउने गर्छन्। छोराछोरी नभएकालाई सन्तान, विवाह नभएकाको विवाह भएको र अन्य इच्छा पूरा भएको अनुभव यहाँ आउनेबाट सुन्न पाइन्छ। दुर्गम क्षेत्रमा पर्ने यो दुप्चेश्वर महादेवको मन्दिर ७०० मिटरभन्दा अग्लो चट्टानको पहरामा अवस्थित छ।

दुप्चेश्वर महादेवको उत्पत्ति ४०० वर्षअघि एक स्थानीय तामाङको गाई हराएकाले खोज्दै खोज्दै जाँदा छंगासुरको पहरामा आफ्नो चारै थुनबाट दूध झारेर चढाइरहेको भेटिएकाले उक्त स्थानमा दुप्चेश्वर महादेव रहेको विश्वास भरिएको हो। सोही बेलादेखि हरेक वर्ष धान्य पूर्णिमाका दिनदेखि ७ दिनसम्म विशेष किसिमको मेला चलाउँदै आएको हो भनिन्छ। अर्को कथन अनुसार, समुद्र मन्थनपछि निस्केको कालकुट विष पिएर रन्थनिएका महादेव गोसाईंकुण्डमा जाँदा दुप्चेश्वरमा गएको र सोही स्थानमा महादेवको उत्पत्ति भएको थियो। सुरुमा दुधेश्वर महादेव भनिए पनि पछि अपभ्रंश भएर दुप्चेश्वर नाम रहन गएको हो भनिन्छ।

दुप्चेश्वर महादेवको मेलामा भाग लिन काठमाडौं, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवनका साथै विभिन्न स्थानबाट भक्तजन लाखौँको संख्यामा आउने गर्छन्। धेरैले भाकल गर्न आउने र भाकल पूरा भएपछि पनि पूजा गर्न आउने गर्छन्। धार्मिक पर्यटनका लागि पनि यो स्थान धेरै नै राम्रो छ। मेलामा तामाङ, शेर्पा जातिका परम्परागत संस्कृति र संस्कारका धेरै नै रोचक र आश्चर्यलाग्दा प्रदर्शन हेर्न पाइन्छ। दुप्चेश्वर महादेवलाई सन्तानेश्वर महादेवका रूपमा पनि मान्दै आएका भक्तजनको संख्या दिनप्रति दिन बढ्दै गइरहेको पाइन्छ। यसको मूल कारण भक्तजनको भाकल पूरा भएकैले हो भनिन्छ।

दुप्चेश्वर महादेवलाई सबै धर्मको आस्थाका केन्द्रका रूपमा पनि मान्दै आएको पाइन्छ। यो क्षेत्रको विकासमा विशेष पहल गर्नुपर्ने स्थानीय बासिन्दाको भनाइ छ। सरकारी स्तरबाट हालसम्म यहाँ कुनै पनि किसिमको पर्यटकीय महत्त्वको प्रचारप्रसार नभएकाले मेलामा बाहेक अन्य समयमा यहाँ आउने भक्तजनको संख्यामा कमी हुने गर्दछ। दुप्चेश्वर महादेवजस्ता धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रचारप्रसार गरेर आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकेमा नुवाकोटको मात्र नभई राष्ट्रियस्तरमै पनि महत्त्वपूर्ण देन हुन सक्ने विश्वास स्थानीयले गरेका छन्।

यो महादेवको यही आकर्षणले गर्दा यहाँ सांस्कृतिक र धार्मिक महत्त्वले भरिएको वातावरण बढ्दै गएको देखिन्छ। यहाँ दिनप्रति दिन आन्तरिक पर्यटनको विकास गर्न सबैले साथ दिनुपर्छ भन्ने सबैले ठानेका छन्। अझ विशेष गरेर यहाँ स्थानीयवासीको पहलमा ‘होम–स्टे’को व्यवस्था हुन सकेमा र त्यसका लागि स्थानीय सरकारले पनि भरपूर सहयोग गरेमा पक्कै पनि यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो टेवा पुग्ने थियो।

 

 

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस