२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विवाह पञ्चमीको अवसरमा सिरहामा बैलगाडा प्रतियोगिता, गोरुलाई यातना

Bullock cart competition in Siraha on the occasion of Bibaha Panchami

जनकपुरधाम । सीता’राम विवाह पञ्चमीको अवसरमा आइतबार सिरहा’सप्तरी जिल्ला जोड्ने बलान नदीमा अनौठो ‘बैलगाडा प्रतियोगिता’ गराइएको छ ।

सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ५ इटहर्वाका अगुवाहरूले यस वर्ष पनि बैलगाडा प्रतियोगितालाई निरन्तरता दिए । प्रतियोगिता हेर्न ठूलो संख्यामा मानिसहरुको भीड लागेको थियो । गोरु कुदाएको देखेर दर्शकहरू रमाए ।

गोरुले तान्ने काठको गाडीलाई बैलगाडा भनिन्छ । कृषिजन्य बस्तु ओसार्न किसानहरू पहिले गोरुगाडा राख्थे । तर पछिल्लो समय बैलगाडा लोप हुने अवस्थामा पुगेको छ । अब ट्रयाक्टर र टायरगडीले किसान कृषिजन्य बस्तु ओसार्छन् ।

तर प्रतियोगिताकै लागि भए पनि किसानहरू दर्जनौँ बैलगाडा लिएर बलान नदी पुगेका थिए । प्रतियोगिता जित्ने सहभागी सबैमा उमंग थियो । जसले प्रतियोगिता जित्छन्, उसलाई समाजले सम्मान गर्छन् ।

गोरुगाडा प्रतियोगिता सुरु हुनुभन्दा अगाडी सप्तरीको बलान बिहुल गाउपालिका १, मल्हनियाँबाट भगवान् राम, लक्ष्मण, विश्वामित्रको रूपमा सज्जिएका बालकलाई लिएर त्यहाँका बासिन्दा जन्तीको रूपमा इटहर्वा आएका थिए । त्यहाँ भगवान श्रीराम र सीताबीच सांकेतिक विवाह सम्पन्न गरियो । बैवाहिक गित र नृत्य चल्यो ।

सीता-राम विवाह समारोह र बैलगाडा दौड प्रतियोगिता हेर्न गाउँ गाउँबाट हजारौं श्रद्धालु तथा सर्वसधारण सहभागी थिए । यो अवसरमा यहां विशाल मेला लागेको थियो । सीता-राम विवाह समारोह सम्पन्न भएपछि गोरुगाडा दौड प्रतियोगिता सुरु भयो । नदीको बालुवामा दर्जनौँ गोरुगाडा एकसाथ कुदाए । प्रतियोगिता जित्न ‘बहलमान’ले गोरुलाई निर्घात कुट्ने गरेको दृष्य भावुक बनाउने खालको थियो ।

गोरुगाडा कुदाउने व्यक्तिलाई स्थानीय भाषामा ‘बहलमान’ भनिन्छ । स्थानीय एक वृद्धले भने, ‘बाजी मार्न गोरु कुट्ने सामान्य हो । कतिपयले त छुरा नै हान्छन् ।’ गोरुलाई यातना दिएर प्रतियोगिता जित्ने मानसिकता गलत रहेको उनको भनाई छ । स्थानीय मनोज यादवका अनुसार प्रतियोगितामा सप्तरीको बलान बिहुलका शिव नारायण यादवको गोरु प्रथम, सिरहाको सखुवानन्कारकट्टीका रामानन्द यादवको गोरु द्वितीय र सप्तरीको बोदेबर्साइनका महेन्द्र यादवको गोरु तृतीय स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने गोरु र बहलमानलाई आयोजकले सम्मान गर्नुका साथै प्रमाण-पत्र प्रदान गरेको छ ।

 

 

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस