२०८१ असोज ११ गते शुक्रवार | 2024 September 27th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चितवन कारागारमा एक सय कैदीबन्दी बिरामी

One hundred prisoners sick in Chitwan Jail

नारायणगढ । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरू विभिन्न रोगबाट पीडित छन् ।

एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिए ।

‘कारागारमा बिरामी कैदीबन्दीको चाप बढ्दै गएको छ’, उनले भने । कार्यालय प्रमुख आचार्यका अनुसार नवलपरासी, धादिङ, गोरखा, मकवानपुरलगायत जिल्लाबाट बिरामी कैदीबन्दी यहाँ उपचारका लागि ल्याउने गरिएको छ ।

अहिले कारागारमा मधुमेहका २६, थाइराइडका तीन, मुटुरोगी चार, एचआइभी सङ्क्रमित चार, छारेरोगबाट पीडित चार, मानसिक रोगी पाँच, हेपाटाइटिसबाट पीडित तीन तथा अन्य रोगबाट पीडित कैदीबन्दी रहेका छन् ।

जिल्लामा केन्द्रीयस्तरको सरकारी अस्पताल, क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज र २४ भन्दा बढी निजी अस्पताल रहेका कारण कैदीबन्दीलाई उपचारका लागि यहाँ पठाउने गरिएको छ । अहिले कारागारमा क्षमताभन्दा झण्डै दुई सय बढी कैदीबन्दी राखिएको छ ।

कारागारमा चार सय ७५ पुरुष कैदीबन्दी राख्ने क्षमता रहेको भए पनि छ सय ७२, ३० कैदीबन्दी राख्ने क्षमता भएकामा ४१ तथा चार आश्रित बालबालिका गरी सात सय १७ कैदीबन्दी रहेका कार्यालय प्रमुख आचार्यले जानकारी दिए । ‘उपचारका लागि पर्याप्त बजेट निकासा नहुँदा औषधि खरिद गर्न समस्या हुने गरेको छ’, उनले भने । औषधि खरिद गर्न समस्या हुँदा दाताको सहयोग लिने गरिएको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस