२०८१ मङ्सिर ८ गते शनिवार | 2024 November 23rd Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

इलामलाई हराउँदै अपराजित पोखरा शीर्ष स्थानमा

काठमाडौं । सञ्जिव विष्टको निर्णायक गोलप्रेरित पोखरा थन्डर्सले स्पोर्टिङ इलाम डे मेची एफसीविरुद्ध १–० को जित निकाल्दै नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा अपराजित यात्रालाई कायम राखेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न रोमाञ्चक खेलमा पोखरालाई जित दिलाउन सञ्जिवले गरेको गोल निर्णायक बन्यो । ४६औँ मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । आयुश घलानले लिएको कर्नरमा १८ यार्डभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

पहिलो हाफभर इलामको निरन्तर दबाब झेलेको पोखराले ४५ मध्यान्तरसम्म गतिलो आक्रमण बुन्न सकेको थिएन । खेलको सुरुआतबाटै आक्रमण बुनेको इलामले छैटौँ मिनेटमा गोलको सुन्दर अवसर गुमायो । अमाथ ड्वले राइट साइडमा पाएको फ्रिकिक सोझै १८ यार्ड बक्समा प्रहार गरेका थिए । सो फ्रिकिक पोखराका रक्षकले क्लियर गर्न नसक्दा इलामका इब्राहिम जितेले नियन्त्रणमा राखेका थिए । जितेले पेनाल्टी बक्सको लेफ्ट साइटबाट गरेको क्रसमा ओमार थिओमको होडर बारमाथिबाट बाहिरिँदा पोखराको खतरा टरेको थिया ।

११औँ मिनेटमा एक समर्थक मैदान प्रवेश गरेपछि खेल एक मिनेट रोकिएको थियो । उनले मैदानमा इलामका फोडे कामारालाई नेपालको झन्डा ओडाएका थिए । १२औँ मिनेटमा इलामले पुनः ‘हाफ चान्स’ सिर्जना गरेको थियो । राइट साइडबाट कामाराले गरेको क्रसलाई पेनाल्टी बक्सभि कसैले हेडर नभेट्टाउँदा इलामले मौकाको सदुपयोग गर्न सकेन ।

इलामले निरन्तर दबाब बनाउँदा पोखराले भने सुरुआती १५ मिनेटसम्म कुनै डरलाग्दो आक्रमण बुन्न सकेको थिएन । २०औँ मिनेटमा पोखराले पहिलो आक्रमण बनायो । पोखराका दीपेश आलेमगरले राइट साइडबाट गरेको क्रस पेनाल्टी बक्सभित्रका मोसेस त्वमले हेडर कनेक्ट गर्न नसक्दा इलामको खतरा सजिलै टरेको थियो ।

२९औँ मिनेटमा इलामले पुनः गोलको सुन्दर अवसर खेर फाल्यो । अमाथ ड्वले मैदानको मध्यभागबाट एक्लै अघि बढाउँदै निकालेको ‘थ्रू’ बललाई पेनाल्टी बक्सभित्रबाट फोडे कामाराले ‘फस्र्ट टच’ प्रहार गरे पनि सेकेन्ड बार नजिकैबाट बाहिरियो । पहिलो हाफको अन्तिम मिनेटमा इलामका ओमार थिओमले बक्सबाहिरबाट गरेको सशक्त सोझो प्रहार गुइलियम प्रिसोले सहजै बचाउँदै पोखराको खतरा टारेका थिए ।

तर, पहिलो हाफको ठिक विपरीत दोस्रो हाफमा भने पोखरा सुरुआतदेखि नै आक्रमक बन्यो । दोस्रो हाफको पहिलो मिनेटमा नै मोसेस त्वमको प्रहार गोलाइनबाट घुमेर निस्किदा पोखराले अग्रता बनाउन सकेन । लेफ्ट साइडमा सञ्जिव विष्टको पासलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रबाट गरेको सशक्त प्रहार पोस्टमा लागेर घुम्दा गोललाइनबाट बाहिरिएको थियो । तर, त्यसको अर्को मिनेटमा सञ्जिव विष्टले गोल गर्दै पोखरालाई अग्रतामा राखेका थिए । दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका आयुश घलानले लिएको कर्नरमा पेनाल्टी बक्सभित्र इलामका ओमार थिओमले क्लियर गर्न नसकेको बललाई सञ्जिवले पहिलो टचमै पोस्टको दिशा दिए ।

६७औँ मिनेटमा इलामले गोलको अर्को अवसर खेर फाल्यो । राइट साइडबाट अमाथ ड्वले गरेको फ्रिकिकमा ६ यार्ड बक्सबाट ‘अनमार्क’ रहेका विमल पाण्डेको हेडर दिशाहीन बन्दा इलामले अग्रताको राम्रो अवसर सदुपयोग गर्न सकेन । ८०औँ मिनेटमा पोखराका कप्तान दीनेश राजवंशीको गम्भीर गल्तीको फाइदा उठाउन नसक्दा इलाम खेलमा फर्किन सकेन । पेनाल्टी बक्सबाहिर ‘एयर’ बल दीनेशले क्लियर गर्न नसक्दा इलामका फोडे कामाराले नियन्त्रणमा राख्दै बक्सको राइट साइडबाट एक रक्षक बिट गरी प्रहार गरे पनि पोखराका गोलकिपरले प्रिसोले त्यसलाई नियन्त्रणमा राखे ।

प्रतियोगितामा पोखराको यो दोस्रो जित हो । जितसँगै चार खेलबाट आठ अंक जोडेको पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखरा प्रतियोगितामा हालसम्म अपराजित छ । पोखरा दोस्रो स्थानको धनगढी एफसीभन्दा एक अंकले मात्र पछाडि छ । दोस्रो स्थानको धनगढीले भने तीन खेलबाट सात अंक जोडेको छ  । इलामको भने यो प्रतियोगिताको तेस्रो हार हो । चार खेलमध्ये एकमा जित निकालेको इलाम तीन अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस