२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा पहिलो पटक समलैंगिक विवाह दर्ता

काठमाडौं ।  नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता भएको छ । नवलपरासीका सुरेन्द्र पाण्डे र लमजुङका माया भनेर चिनिने रामबहादुर गुरुङबीचको विवाहलाई नेपालको स्थानीय प्रशासनले दर्ता गरेको हो ।

लमजुङको दोर्दी गाउँपालिका वडा नम्बर २ ले पाण्डे र गुरुङबीचको विवाहलाई दर्ता गरेको हो । स्थानीय पञ्जिकाधिकारी रञ्जु विश्वकर्माले सर्वोच्च अदालतको अन्तरिम आदेश बमोजिम पाण्डे र गुरुङको विवाह दर्ता गराएकी हुन् । पाण्डे र गुरुङबीचको विवाह बुधबार दर्ता गरिएको हो । उनीहरूले विवाह गरेको मिति २०७४ असोज २७ गते राखिएको छ । विवाह दर्ता प्रमाणपत्रमा विवाहको प्रकारमा ‘सामाजिक परम्पराअनुसार’ उल्लेख गरिएको छ । यो विवाह दर्ताको अभिलेख भने अस्थायी रूपमा राखिने पनि प्रमाणपत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतले गत असारमा समलैंगिक विवाह दर्ता गराउनका लागि सरकारका नाममा अन्तरिम आदेश जारी भएको थियो । सर्वोच्चले नै अस्थायी अभिलेख रहने गरी विवाह दर्ताको व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेश बोकेर कानुनी रूपमा ‘दर्ता विवाह’ गर्नका लागि पाण्डे र गुरुङ जिल्ला अदालत काठमाडौं पुगेका थिए । तर अदालतले विवाह दर्ता गर्न नमानेपछि पाण्डे र गुरुङ उच्च अदालत पाटन पुगेका थिए । त्यहाँबाट पनि उनीहरूको पक्षमा दर्ता विवाहका लागि आदेश आएको थिएन । त्यसपछि उनीहरू स्थानीय तहमा गएका हुन् । जहाँ उनीहरूको विवाह दर्ता गरिएको हो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस