२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सामाजिक सुरक्षा कोष: सन्तानलाईपनि १० लाखसम्म स्वास्थ्य सुविधा, पेन्सनदेखि आधारभूत पारिश्रमिक

social security fund facility in nepal

११ मंसिर, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकका छोरा–छोरीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने भएको छ । हालसम्म योगदानकर्ता दम्पतीले मात्र स्वास्थ्य सुविधा पाउँदै आएकोमा अबदेखि उनीहरुका १८ वर्षमुनिका सन्तानलाई पनि समेट्ने भएको हो ।

छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले योगदानकर्ता श्रमिकका सन्ततीलाई पनि स्वास्थ्य सुविधामा समेट्ने घोषणा गरेका छन् । गत शुक्रबार बसेको सामाजिक सुरक्षा कोषको बोर्ड बैठकले योगदानकर्ताका १८ वर्ष मुनिका सन्तानलाई पनि उनीहरुका आमा–बुवाले पाएसरहको स्वास्थ्य सुविधा उपलब्ध गराउने निर्णय भइसकेको छ ।

‘योगदानकर्ता श्रमिकका दम्पत्तीबाट उनीहरुका १८ वर्षमुनिका छोराछोरीलाई पनि दिने गरी स्वास्थ्य सुविधा विस्तार गर्ने निर्णय बोर्ड बैठकले गरेको छ,’ कोषका बोर्ड सदस्य जगत सिम्खडाले भने, ‘यो निर्णय गर्नुअघि यच्युरीबाट रिस्क एनालाइसिस पनि गराइएको छ । त्यसले हुन्छ भनेपछि शुक्रबार बिहानको बोर्ड बैठकबाट निर्णय गर्यौं ।’ यस सम्बन्धी कार्यविधि भने संशोधन हुन बाँकी छ । कार्यविधि संशोधनको तयारी भइरहेको सामाजिक सुरक्षा कोषका निर्देशक उत्तमराज नेपालले बताए । ‘कार्यविधि संशोधन गरेर योगदानकर्ता श्रमिकका बालबच्चालाई पनि स्वास्थ्य सुविधा दिने हो,’ निर्देशक नेपालले भने ।

सुविधा के छ ?

सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले वाषिर्क एक लाखसम्मको औषधि उपचार सुविधा पाउने गर्दछन् । कोषमा २ वर्ष योगदान गरेकालाई घातक रोग लागेमा १० लाखसम्म उपचार खर्चको शोधभर्ना हुन्छ । यसैगरी सामाजिक सुरक्षा कोषमा योगदानकर्ता कामको सिलसिलामा दुर्घटना भएमा त्यसको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्छ । अन्य दुर्घटनाको उपचारको ७ लाख रुपैयाँसम्म शोधभर्ना हुन्छ । योगदान शुरु गरेको दुई वर्ष पुगेको योगदानकर्ताको व्यवसायजन्य रोगको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्छ ।

दुर्घटना भएमा वा व्यवसायजन्य रोग लागेर काममा नफर्किएसम्म आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम पाइन्छ भने स्थायी रुपमा अशक्त भएमा अशक्तताको अनुपातको आधारमा आधारभूत पारिश्रमिकको ६० प्रतिशतसम्म आजीवन पेन्सन पाइन्छ । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना र अशक्तता सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना र वृद्ध अवस्था सुरक्षा योजना अनुुसार सुविधा पाउँदै आएका छन् ।

साथै योगदानकर्ता श्रमिकका सातैवटा प्रदेशबाट दुई–दुईजना छात्र–छात्रा गरी चार जनालाई २१ वर्षसम्म छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था समेत छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐनले औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउन सक्ने व्यवस्था गरेको छ ।

ऐनमा औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना, आश्रति परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्ने भनी दायरा किटान गरिएको छ ।

सामाजिक सुरक्षा कोषको वेबसाइटमा यही मंसिर ८ गते अद्यावधिक गरिएको विवरण अनुसार हालसम्म १८ हजार ४३९ रोजगारदाता सूचीकृत भएका छन् भने ९ लाख २८ हजार ४५३ योगदानकर्ता छन् । ८ चैत २०७९ मा वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराइएको थियो । कोषको गत शुक्रबारसम्मको तथ्यांक अनुसार अहिलेसम्म ४ लाख ६६ हजार ६२२ जना नेपाली वैदेशिक रोजगारीकै क्रममा सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । गत साउन ३१ गतेदेखि सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेटेको छ ।

 

 

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस