२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

११ वटा बस थपेर सूर्यविनायक–रत्नपार्क रुटमा सरकारी द्रुत बस सेवा फेरि सुरु

१० मंसिर, काठमाडौं । सूर्यविनायक–रत्नपार्क रुटमा एक महिना मात्र चलेर स्थगित गरिएको सरकारी द्रुत बस सेवा आजदेखि फेरि सुरु भएको छ । थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क–सूर्यविनायक रुटमा ३६ वटा बस चल्ने छन् ।

ती बस आज बिहान साढे ८ बजेदेखि तीन–तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् । सूर्यविनायकदेखि रत्नपार्क साढे १० बजेसम्म चल्ने र दिउँसो साढे ३ बजेदेखि साढे ५ बजेसम्म रत्नपार्कदेखि सूर्यविनायकसम्म चल्ने गरी तालिका बनाइएको छ ।

यसअघि ती बस रत्नपार्क र सूर्यविनायक दुवै तर्फबाट ५–५ मिनेटको फरकमा छुट्थे र दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म चल्थे । द्रुत बस सेवालाई थप प्रभावकारी बनाउन बसहरु थपिएको र समय तालिकामा पनि केही संशोधन गरिएको मन्त्रालयको भनाइ छ । यात्रुहरुलाई छिटो गन्तव्य पुग्न सहज होस् भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि द्रुत बस सेवा सुरु गरेको थियो । तर यो सेवा प्रभावकारी नभएपछि एक महिनामै स्थगित गरिएको थियो ।

अरु सार्वजनिक बसलाई रत्नपार्क(सूर्यविनायक पुग्न डेढ घण्टा समय लाग्ने गरेकोमा द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्ने बताइएको छ । माइतीघर, कोटेश्वर, जडिबुटी जस्ता ट्राफिक जाम बढी हुने चोकहरुमा पनि द्रुत सेवाका बसहरु रोकिननपर्ने गरी ट्राफिक प्रहरीले सहयोग गर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन् । रत्नपार्क–सूर्यविनायक रुटमा अरु सार्वजनिक बसहरुले जति भाडा लिन्छन् द्रुत सेवाका बसमा पनि त्यति नै भाडा लाग्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० मङ्सिर १० गते आइतवार
प्रतिक्रिया दिनुहोस