२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महोत्तरीमा डाँका समातेपछि रात्रिभोज, खुसियालीमा असईले पेस्तोल खेलाउँदा !

९ मंसिर, जनकपुरधाम । महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् ।

समाचार स्रोतका अनुसार यो घटना गत कात्तिक ३० गते रातिको हो । कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७–८ जनाको समूहले लुटपाट गरेको थियो । लुटपाटमा संलग्नमध्ये सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीले रौतहटबाट पक्राउ गर्‍यो ।

पक्राउ गरेर ल्याउने क्रममा भाग्न खोज्दा दुवै जनालाई प्रहरीले खुट्टामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजन भयो । भोज खाएर फर्केका असई बच्चा यादव चौकीमा पुगेर रमाइलो गर्न थाले । उनी पेस्तोल खेलाउँदै उनले रमाइलो गरिरहेका बेला पेस्तोल पड्किएको हो । पेस्तोलको गोली जवान राजेशकुमार साहको एक पाखुरामा लागेको छ ।

घटना ढाकछोप गर्न असईले उपचारका लागि प्रहरी जवानलाई भारततिर पठाएका थिए । भारतमा उपचार गराउन जाँदा भारतीय प्रहरीले गोली लागेको थाहा पाएपछि सप्तरी प्रहरीलाई फोन गरेर यस विषयमा जानकारी गरायो । त्यसपछि घटना बाहिरिएको हो । घटनाबारे शुक्रबार जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सप्तरी तनावमा छ । थाहा पाएलगत्तै प्रहरी चौकीको इन्चाजबाट असई यादवलाई हटाएर जिल्ला तानिएको छ ।

जाँचबुझको लागि उनलाई जिल्लामा बोलाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए । महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लले घटनाको प्रारम्भिक जानकारी आएकोले बुझिरहेको बताए । ‘घटना भएको हो कि होइन भन्ने हामी अनुसन्धान गर्दैछौं । सानो छानबिन टोली गठन गरी छानबिन गरिसकेपछि यो विषयमा भनौला । यो आन्तरिक घटना हो । अहिले यो विषयमा भन्न मिल्दैन,’ उनले भने । स्रोतका अनुसार असई यादवले भने चेन्जर सफा गर्ने क्रममा पेस्तोल पड्केर पोलमा लागि फर्किएर प्रहरी जवानलाई लागेको दाबी गरेका छन् ।

 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस