२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साइबर सुरक्षाविज्ञ भन्छन् : टिकटक चलाउन डिएनएस र भिपिएन प्रयोग नगर्नू

At what time and how will Tiktok be closed

काठमाडौँ । सरकारले भिडियो प्लेटफर्र्म सामाजिक सञ्जाल टिकटकमा विकृति र अराजकता बढेपछि नेपालमा प्रतिबन्ध गरे पनि अवैध रूपमा यसको प्रयोग रोकिएको छैन । सरकारले गत कात्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकबाट नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको हो । तर अहिले डोमिन नेम सिस्टम (डिएनएस) र भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) का माध्यमबाट टिकटक सञ्चालन भइरहेको छ ।

व्यक्तिगत डाटा र साइबर सुरक्षाको जोखिम मोलेर नेपालभित्र टिकटक प्रयोग भइरहेको हो । साइबर सुरक्षाविज्ञ र सरोकारवालाहरूले निःशुल्क भिपिएन र डिएनएस प्रयोग गर्दा त्यसका उत्पादकले प्राप्त गर्ने पहुँच निकै जोखिमपूर्ण हुने बताउनुभएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीपरिषद्को निर्णयले प्रतिबन्ध गरेको टिकटक अन्य गेटवेमार्फत चलाउनु आफैँमा गैरकानुनी रहेको बताउनुभयो । उहाँले यसअघि पनि विभिन्न बहानामा सर्वसाधारण ठगिएका घटना धेरै आएको बताउँदै भिपिएन र डिएनएसको प्रयोग गर्दा जोखिम हुने विषयप्रति सचेत हुन सबै प्रयोगकर्तालाई आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान फेडेरेसनका महासचिव एवं साइबर सुरक्षाविज्ञ चिरञ्जीवी अधिकारीले टिकटक चलाउन प्रयोग भइरहेका भिपिएन र डिएनएस व्यक्तिगत डाटा सुरक्षामा जोखिमपूर्ण हुने बताउनुभयो । अध्यक्ष खनालले भन्नुभयो, “निःशुल्क भिपिएन प्रयोग गर्न जोखिम हुन्छ । किनभने भिपिएन प्रयोग गर्नुपूर्व त्यसका सर्तहरूमा कहाँ कहाँ एक्सेस राख्ने भएको हुन्छ, त्यो नबुझी प्रयोग गर्दा खतरा हुन्छ ।”

साइबर सुरक्षाविज्ञ अधिकारीले नेपालमा केही दिनयता एक लाखभन्दा बढी भिपिएन र डिएनएस प्रयोग भइरहेको बताउँदै निःशुल्क प्राप्त भिपिएन र डिएनएसले डाटादेखि बैङ्क खातामा पनि पहुँच हुने भएकाले प्रयोग नगर्न सुझाव दिनुभयो । साइबर सुरक्षाविज्ञ अधिकारीले भन्नुभयो, “टिकटक चलाउन भिपिएन र डिएनएसको प्रयोग बढेको छ । तर निःशुल्क प्राप्त यस्ता गेटवेबाट जुनसुकै बेला साइबर असुरक्षाको जोखिम हुन सक्छ, त्यसैले यसरी निःशुल्क पाइयो भनेर भिपिएन र डिएनएस प्रयोग नगर्दा नै राम्रो हुन्छ ।”

उहाँले भिपिएनका उत्पादकले व्यक्तिगत तथ्य तथ्याङ्क चोरी गर्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । उहाँले शुल्क तिरेर प्रयोग गर्न मिल्ने भिपिएन एप केही सुरक्षित हुने बताउनुभयो । उहाँले वान टाइम पासवर्ड (ओटिपी) तथा मोबाइल बैङ्किङ दुरुपयोग गरी व्यक्तिको खाताबाट करोडौँ रकम गायब भएका घटना स्मरण गर्दै यसरी भिपिएन जस्ता अवैधानिक एपको प्रयोगले व्यक्तिगत खातासँगै बैङ्कलाई पनि अप्ठ्यारो पर्ने बताउनुभयो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २ गते शनिवार
प्रतिक्रिया दिनुहोस