२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छाउरीलाई भोटे कुकुरबाट यौनसम्पर्क गराउन गाडी रिजर्भ गरेर भारतदेखि नेपालमा

फिदिम, कात्तिक २६ गते । भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफूले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपुगेका छन् । मिलनका छिमेकी तेन्जिङ भोटिया पनि आफ्नो माउ कुकुर लिएर पानीभित्ताकै किपालमु शेर्पाको गोठ आइपुगे । उनीहरु दुबैजना भोटे कुकुरलाई प्रजनन गराउन सिक्किमदेखि पाँचथरको उच्च पहाडी भेगका चौंरीगोठसम्म आएका हुन् ।

उनीहरुले कुकुर लिएर यहाँसम्म आँउदा जनही ४ हजारका दरले भारु पैसा तिरेर गाडी रिजर्ब गरेको सुनाए । गेजिङबाट उत्तरेसम्म यत्ति खर्च गरेर आएका उनीहरुलाई उत्तरेदेखि याङवरकका चौंरीगोठ आउन एक दिन लाग्यो ।

‘असली भोटे कुकुरका छाउरा जन्माउन यत्तिको मेहनेत गरेका हौं’ मिलनले भने । छाउरी कुकुर गर्भवती भएको निर्क्योल भएपछि फर्कने उनीहरुको योजना छ ।

लेकाली रैथाने भोटे कुकुरसँग यौनसम्पर्क गराएर निख्खर छाउरा छाउरी उत्पादन गर्ने चुनौती बढेकाले वर्षेनी नेपालतर्फका गोठमा माउ कुकुर लिएर आउनेगरेको गुरुङले सुनाए । भारतको पश्चिम बङ्गाल र सिक्किमसँग सिमाना जोडिएका पाँचथरको याङवरक र फालेलुङ गाउँपालिकाका –५ वटा गोठमा भोटे कुकुरका डाँगो पालिएका छन् । प्रायः गोठ यतिबेला एउटा डाँगो बराबर पाँचवटा माउ कुकुर मिसाउन ल्याइएको छ ।

भोटे कुकुर लेकमा मात्रै सजाउछ, भोटे कुकुर रैथानेसँग मिसिए सन्तान किट्टिने वा मासिने भएकाले प्रायः घर गोठमा बाँधेर राखिन्छ । हाडनाता भित्र प्रजनन गराए सन्तान किट्टिने सम्भावना धेरै भएकाले टाढा लगेर मिसाउने गरिएको उनीहरुको भनाइ छ । वेष्टबंगाल र सिक्किमसँगै इलाम र पाँचथरका ग्रामीण भेगका भोटे कुकुर पारखी यतिबेला आ आफ्ना माउ कुकुर लिएर लेककै गोठ आइपुग्छन् । ती सबै कुकुरलाई एक अर्कामा समागम गराएर गर्भवती भएको निर्क्योल गर्न झण्डै एक महिना लाग्ने किपालमुको भनाइ छ ।

‘टिबेटियन मेस्टेट’ भनिने भोटे कुकुर उच्च पहाडी र हिमाली क्षेत्रको महत्वपूर्ण र दुर्लभ प्रजाति हो । यो जात बिशेषगरी शेर्पा र भोटेसँगै लेकाली क्षेत्रका पशुपालक किसानले घर र गोठको सुरक्षार्थ पाल्छन् । उच्च पहाडी र हिमाली क्षेत्रमा चौंरी गोठको संख्या घट्न थालेसँगै यो प्रजातिका कुकुर पनि मासिन लागेकाले बीऊ जोगाउने चुनौती स्थानीयलाई छ ।

आफूले पालेको डाँगोसँग समागम गराएवापत छाउरी ल्याउनलेहरुसँग धनीले बाली लिन्छन् । गोठमा रहँदा खाँदा बस्दा लागेको खर्च माउ लिएर आउनेले नै व्यहोर्छन् । भोटे कुकुरले दुध खिर, घीउ, कुराउनी र मासु रुचाउँछन् । कुकुर ब्याएपछि डाँगोको बालीबापत एउटा छाउरो बुझाउनुपर्छ । एउटा माउ कुकुरले एक पटकमा चारदेखि ६ वटासम्म बच्चा जन्माउँछ । यो प्रजातीको कुकुरका छाउरा २० हजार र छाउरी १० हजार रुपियाँमा बिक्री हुन्छ । भारत र सिक्किमतिर एउटै छाउराको दाम नेरु ४० हजार रुपियाँसम्म पर्नेगरेको उनीहरुको भनाइ छ ।

चौंरीगोठ घटेसँगै यो प्रजातीका कुकुरको संख्या पनि घटदो क्रममा रहेकाले सन्तान जोगाउने चुनौती बढेको स्थानीय सुनाँउछन् । माउ कुकुर गर्भवती भएको थाहा पाउने वित्तिकै भोटे कुकुरका छाउरा छाउरीको बुकिङ सुरु हुन्छ । पाचथर इलाम, ताप्लेजुङ र तेहथुम हुदै छिमेकी मुलुक भारतको सिक्किम र पश्चिम बङ्गालसम्म छाउरा छाउरी किन्न सौखिनहरु गोठसम्म आइपुग्छन् । अहिले पाँचथर र इलाम क्षेत्रका २० वटा गोठ र केही घरमा मात्र भोटे कुकुर पालिएको छ । पालिएकामध्ये पनि छाउरीको सङ्ख्या धेरै छ । डाँगो भने ५ वटा मात्रै रहेको व्यवसायी बताउँछन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस